केदार श्रेष्ठ
साहित्यतिर झुकाव राख्न थालेदेखी लक्ष्मीमा नयाँ जोश र जाँगरको संचार भएको थियो । उनी बरोबार साहित्यका विभिन्न विधामा कलम चलाऊने गर्थी र त्यसको प्रकाशनको प्रयासमा पनि जुट्थी । सायद उसलाई साहित्यमा सफल हुने प्रवल इच्छाले गर्दा होला, उसले साहित्यिक रचनाहरुमा आफ्नो थर लोप गराइ लक्ष्मी 'असफल' भनी लेख्न थाली । उसले विभिन्न लेखकहरु संग सम्वन्धको विस्तार गर्न थाली, सायद यो पनि 'असफल' लाई 'सफल' मा ढाल्ने राम्रो काइदा हुन सक्छ ।
यसै क्रममा संयोगवश भनौँ या कुनै कारणले उसको एकजना लेखकसँग चिनापर्ची भयो । साहित्य-आकाशमा नाम स्थापित गरिसकेका उक्त लेखकको विभिन्न पत्रपत्रीकाहरुसम्म पहुँच रहेछ । लक्ष्मीले पनि यो कुरा बुझेर मौकामा चौका हन्ने दाउले भनिहाली-"मैले पनि हालसालै एउटा कविता लेखेकी छु, सुनाउँ कि ?" लेखकज्यूको अनुमतिपश्चात उसले खुब स्फुर्त शैलीमा कविता सुनाइ । लेखकले पनि कविताको तारिफ गर्यो र उसको हातबाट कविताको कागज लिँदै भन्यो-"लक्ष्मी 'असफल' जी कविता राम्रो छ, म यसलाई छाप्ने प्रयत्न गरुँला ।" लक्ष्मीले खोजेकी पनि यस्तै, कुनै नाइनास्तीको कुरै भएन ।
केही हप्तापछी एउटा साहित्यिक पत्रीका उसको हातमा पर्यो । यस्ता पत्रीका भनेपछी 'बाँदरले केरा छोड्ला' तर उसले छोड्ने थिइन । कुनै कसर नराखी पढ्ने गर्थी । उसले क्रमश: एकपछी अर्को गर्दै त्यहाँभित्रका रचनाहरु पढ्दै गई । एउटा रचनामा गएर भने एकैछिन अडीइ र हर्षका साथ त्यो रचना चम्किला आँखा लिएर पढ्न थाली । ए ! त्यो त उसकै कविता पो रहेछ । जुन लेखकज्यूले "छाप्ने प्रयत्न गरुँला" भनी थपक्क गोजिमा राखेको थियो । तर त्यस रचनाको लेखकको नाम देखेपछी उ झसङ्ग भईन । त्यहाँ त लक्ष्मीको नाम कहिँ कतै उल्लेख थिएन । विश्वास लागेन त्यस्ता प्रतिष्ठित व्यक्तिले यस्तो घटिया काम कसरी गर्न सक्छ ? उसले फेरी आफ्नो नाम खोज्न थाली, यता हेरी, उता हेरी, तल हेरी, माथि हेरी तर अहँ कतै थिएन त्यहाँ त उही लेखकको नाम उसलाई गिज्ज्याएजस्तै गरी मुसुमुसु हाँसिरहेको थियो । 'सफल' अभिलाषा पालेर 'असफल' नाम राखेकी लक्ष्मीले आफ्नै हातले, आफ्नै कलमले आफ्नै विचारले लेखेकी त्यो आफ्नै मौलिक कवितामा आफ्नै नाम भेट्टाउन 'असफल' भाईन् ।
शव्द-संयोजन मासिकको पूर्णांक ३२ मा प्रकाशित (२०६३ पुष)