केही नेपाली साहित्यकारहरु

Friday, March 19, 2010

पागल

महाकवि लक्ष्मीप्रसाद देवकोटा
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल ।
म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बासनालाई संबाद लिन्छु ।
आकाशभन्दा पातालका कुरालाई छुन्छु ।
ती कुरा,
जसको अस्तित्व लोक मान्दैंन
जसको आकार संसार जान्दैन !
म देख्दछु, ढुङ्गालाई फूल !
जब, जलकिनारका जल चिप्ला ती,
कोमलाकार, पाषाण,
चाँदनीमा,
स्वर्गकी जादूगर्नी मतिर हाँस्दा,
पत्रिएर, नर्मिएर, झल्किएर,
बल्किएर, उठ्दछन् मूक पागलझैँ,
फूलझैँ- एक किसिमका चकोर फूल !
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी !
जो लेखिन्न, छापिन्न, बोलिन्न, बुझाइन्न, सुनाइन्न ।
जुनेली गङ्गा-किनार छाल आउँछ तिनको भाषा
साथी ! छाल छाल !
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !
तिमी चतुर छौ, वाचाल !
तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ
मेरो गणितमा एकबाट एक झिके
एकै बाँकी रहन्छ !
तिमी पाँच इन्द्रियले काम गर्छौ,
म छैटौँले !
तिम्रो गिदी छ साथी !
मेरो मुटु ।
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,
म उसमा हेलेन र पद्मिनी पाउँछु,
तिमी बलिया गद्य छौ !
म तरल पद्य छु !
तिमी जम्दछौ जब म पग्लन्छु,
तिमी सँग्लन्छौ जब म धमिलो बन्छु,
र ठीक त्यसैका उल्टो !
तिम्रो संसार ठोस छ ।
मेरो बाफ !
तिम्रो बाक्लो, मेरो पातलो !
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,
ठोस कठोरता तिम्रो यथार्थ छ ।
म सपनालाई समात्न खोज्दछु,
जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको
पान्ढीकीको बाटुलो सत्यलाई !
मेरो छ वेग काँडाको साथी !
तिम्रो सुनको र हीराको !
तिमी पहाडलाई लाटा भन्दछौ,
म भन्छु वाचाल ।
जरुर साथी ।
मेरो एक नशा ढिलो छ ।
यस्तै छ मेरो हाल !

Thursday, January 14, 2010

आमा र ऐना

विवश वस्ती

आमाले जिन्दगीमा कहिल्यै पनि ऐना हेर्न पाउनुभएको थिएन । ऐनामा आफ्नो प्रतिविम्ब कस्तो देखिन्छ ? उहाँलाई केही पनि थाहा थिएन सायद । जिन्दगीको लामो हिस्सा उहाँले ऐना नहेरेरै बिताउनुभयो ।
ऐनाको आवश्यकता उहाँले कुवामा जमेको पानी, पोखरीको पानी वा त्यस्तैत्यस्तै जलविम्बहरुमा हेरेर पूरा गर्नुभयो ।
उहाँ आफ्नो अनुहार हेर्नुपर्यो भने तिनै स्थलहरुको चयन गर्नुहुन्थ्यो । एकदिन उहाले साच्चै नै ऐना हेर्न पाउनुभयो । त्यतिखेर उहा बुढ्यौलीका दिनहरु नाप्दै हुनुहुन्थ्यो । ऐनामा आफ्नो अनुहार हेरिसकेपछि उहाँले चाउरी परिसकेको आफ्नो गाला मुसार्दै यतिमात्रै प्रतिक्रिया दिनुभयो, म जवान छँदा यो ऐनामा हेरेकी भए कस्ती देखिन्थे हुँला ?
उहाँ भावुक बन्नुभयो । हामी पनि भावुक भयौं ।

Friday, November 13, 2009

हात्तीजस्ता मेरा बा

सङ्गीतश्रोता
महाकवि लक्ष्मीप्रसाद देवकोटाका पुत्र प्रा.डा. पद्मप्रसाद नेपाली समालोचनामा महाकविका कृतिहरूको राम्रो अध्ययन नै नगरिएको दाबी गर्छन् । उनी देवकोटाका छोरा मात्रै होइनन्, नेपाली साहित्यको अध्येता र अंग्रेजी साहित्यको प्राध्यापकसमेत हुन् । उनी देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्रका अध्यक्ष पनि छन् । देवकोटाकृत साहित्यको कम अध्ययन भएको निष्कर्षमा पुग्न पुत्र देवकोटासँग केही तर्क र तथ्य छन् । यसपटक साहित्यिक कोणबाट उनले आफ्ना पिताको स्मरण गरेका छन् । प्रस्तुत छ, महाकविकै शतवाषिर्कीको अवसरमा पिता देवकोटामाथि पुत्र देवकोटाको साहित्यिक दृष्टिःलक्ष्मीप्रसाद देवकोटाको छोरा भएर भन्दा पनि उहाँका कृतिको पाठक र साहित्यको विद्यार्थीका नाताले कहिलेकाहीँ म उहाँको योगदानबारेमा घोत्लिने गर्छु । नेपाली साहित्यमा उहाँले जे-जति योगदान दिनुभएको छ, त्यसको समग्र अध्ययन पुगेको छ भन्ने मलाई लाग्दैन ।
भन्नलाई मात्रै उहाँलाई महाकवि-महाकवि भनिन्छ । त्यसो भनेर मात्रै त न उहाँका सिर्जनाको अध्ययन हुन्छ, न उहाँको योगदानको सम्मान हुन्छ । उहाँलाई गहिरिएर अध्ययन गर्ने हो भने महाकवि भनिराख्नुपर्दैन, लक्ष्मीप्रसाद देवकोटा मात्रै भने पुग्छ । उहाँको व्यक्तित्व कविको मात्रै हो कि जस्तो चर्चा पनि गरिन्छ । उहाँको व्यक्तित्वका विभिन्न आयामलाई हामीले बिर्सिराखेका छौँ । खै, उहाँको कथाकार व्यक्तित्वको बारेमा अध्ययन ? खै, उहाँका नाटकहरूको अध्ययन ? हुन त समयमै कथा/नाटक आदिका संकलनको प्रकाशन नभएकाले पनि उहाँका राम्रा-राम्रा कथा/नाटकको गहिरो अध्ययन नभएको होला । तर, पछि उहाँको बारेमा अध्ययन गर्नेले त यस विषयमा खोजी गर्नुपर्ने हो ! हाम्रा कतिपय विश्वविद्यालयमा देवकोटाको समग्र अध्ययन गर्ने व्यवस्था छैन ।

नेपाली साहित्यको आधुनिकता कसको नेतृत्वमा स्थापित भयो ? मेरो बुझाइमा नेपाली साहित्यको आधुनिकता देवकोटाको आधुनिकताभित्र परिभाषित हुनु आवश्यक छ । नेपाली साहित्यको आधुनिकतामा देवकोटा खोज्ने होइन, देवकोटाको आधुनिकताभित्र नेपाली साहित्य कहाँ छ भनेर खोज्नुपर्ने हुन्छ । मैले त नेपाली साहित्यमा नै सम्पूर्ण रूपमा सिंगो देवकोटा मात्रै देखेको छु । यो मेरो अन्धता पनि हुनसक्छ । तर, महाकविको योगदानबारे जे-जति अध्ययन हुनुपर्ने हो, त्यो पनि भएको छैन ।
नेपाली साहित्यमा समालोचनाको सुरुदेखिकै प्रवृत्ति महानतामा जोड दिने प्रवृत्ति हो । देवकोटालाई पनि प्रायः नेपाली समालोचकले उहाँको महानताबाट प्रभावित भएर श्रद्धापूर्वक हेरे । उहाँको व्यक्तित्व नै कति प्रभावशाली थियो भने त्यसैको उकुसमुकुसले उहाँप्रति सम्मान र श्रद्धा प्रकट गरियो । श्रद्धा गरिनु नराम्रो कुरा त होइन । तर, समालोचना भनेको श्रद्धा मात्रै होइन । समालोचना समालोचकको आफ्नो दृष्टिकोणअनुसारको अभिव्यक्ति वा प्रतिक्रिया मात्रै हो । समालोचना सबैले एउटै कोणबाट एउटै सिद्धान्तअनुसार गर्नुपर्छ भन्ने हुँदैन । मोदनाथ प्रश्रतिले माक्र्सवादी दृष्टिकोणले हेर्नुभयो भन्दैमा त्यो गलत वा अर्को कसैले अर्को कुनै सिद्धान्तका आधारमा हेर्‍यो भन्दैमा त्यो सही भन्ने हुँदैन । अनगिन्ती दृष्टिकोण हुन्छन्, तिनले अध्ययन गर्दै जान्छन् । टिप्पणी-प्रतिटिप्पणी हुन्छ । यो त निरन्तरको प्रक्रिया हो ।
समालोचकहरूले कसैले देवकोटालाई प्रगतिवादी, कसैले स्वच्छन्दतावादी, कसैले स्वच्छन्दतावादी-प्रगतिवादी, कसैले माक्र्सवादी भनेर दाबी गर्छन् । मलाई पनि कहिलेकाहीँ सोधिन्छ- देवकोटा के वादी हुन् ? यथार्थमा देवकोटा नेपाली साहित्यको त्यस्तो हात्ती रहेछन्, कसैले पुच्छर छाम्छन् र लौरीजस्तो भन्छन् । कसैले खुट्टा छाम्छन् र खम्बाजस्तो भन्छन् । कसैले जिउ छाम्छन् र भित्ताजस्तो भन्छन् । आखिरमा देवकोटा सग्लो हात्ती हुन्, जसलाई सम्पूर्ण रूपमा कसैले पनि भेउ पाउन सकेका छैनन् । सबै आँखा खोलेर देवकोटाका सबै आयामको अध्ययन भएपछि नै वास्तविक देवकोटालाई दुनियाँले चिन्नेछ । म देवकोटाको छोरो भएकाले बालाई हात्तीजस्तो देखेको होइन, साहित्यको सामान्य विद्यार्थी र देवकोटाको साहित्यको पाठक भएको नाताले भनिरहेछु ।

देवकोटाको योगदानलाई नेपाल सरकारले पनि गम्भीरतापूर्वक लिएको छैन । सरकारभन्दा पनि जनताले उहाँलाई बढी सम्मान गरेका छन् । सरकारले गर्न सक्ने कतिपय काम पनि गर्नै भ्याएको छैन । साधारणभन्दा साधारण देवकोटाका कृतिको प्रकाशन/प्रवर्द्धन गर्न सक्थ्यो सरकारले, त्यो पनि गर्दैन । परराष्ट्र मन्त्रालयअन्तर्गतका विभिन्न दूतावासमा देवकोटाका कृतिका अनुवाद गरेर बाँड्न सकिन्थ्यो । विश्वविद्यालयमा कोष स्थापना गर्न सकिन्थ्यो । अहिले हामी दक्षिण एसियाली साहित्य पनि विश्वविद्यालयमा पढाउँदै छौँ । त्यो साहित्यको पाठ्यक्रममा पनि देवकोटाका कृति राख्न सरकारले पहल गर्न सक्छ । दक्षिण एसियाली साहित्यमा देवकोटाको स्थान कहाँ छ ? दक्षिण एसियाको परिभाषामा कति क्षेत्र पर्ने हो ? यस्ता कुरामा सरकारको ध्यान जानुपर्ने हो । दक्षिण एसियाको साहित्यको परिभाषा हामीले नै गर्ने हो भने त हामी देवकोटाबाटै सुरु गछौर्ं । तर, सरकारले यस्ता गम्भीर विषयमा पनि खासै महत्त्व दिएको देखिन्न । नेपाली साहित्यमा देवकोटाको योगदान जति छ, त्यसबारे सरकारको चासोचाहिँ शून्यजस्तो देखिन्छ ।
अघिल्लो वर्षको बजेट प्रस्तुत गर्दा तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले देवकोटाकै कवितांश 'उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक' उद्धृत गर्नुभएको थियो । सोही बजेटमा देवकोटाको शतवाषिर्की मनाउनका लागि भनेर सरकारले २५ लाख रकम पनि छुट्टयायो । त्यो अलिकति भए पनि नेपाली साहित्य र देवकोटाको योगदानप्रतिको सरकारको सचेतता हो । तर, त्यसका लागि पनि हामीले अझ अघिल्लो अर्थमन्त्री डा. रामशरण महतकै पालामा ठूलो प्रयत्न गरेका थियौँ । हामीले महाकवि देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्रको तर्फबाट योजना बनाएर सरकारसँग २८ लाख रुपैयाँ मागेका हौँ । पछि त्यो रकम धेरै संस्थालाई शतवाषिर्की मनाउन बाँडियो, देवकोटा केन्द्रलाई जम्मा ११ लाख प्राप्त भएको थियो । त्यसअन्तर्गतको पाँच लाखको हामीले विद्वतवृत्ति स्थापना गरेका छौँ । वर्षैभरिको शतवाषिर्की कार्यक्रमका लागि पनि हामीले छुट्टै योजना बनाएर काम पनि गरिरहेका छौँ । देशका अरू विभिन्न संघ/संस्थाले पनि अघिल्लो सालको कात्तिक २७ देखि यो वर्षको कात्तिक २७ सम्म विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन् । मलाई त देवकोटाको जन्म नोभेम्बर १२ तारिखमा गर्नु उपयुक्त लाग्थ्यो । किनभने देवकोटालाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउनका लागि त्यो मिति नै सही हो । हामी देवकोटा र उनको साहित्यिक कृतिलाई विदेशसम्म पनि पुर्‍याउन चाहन्छौँ ।

देवकोटाका बारेमा जानकारी राख्न चाहने र देवकोटा अध्ययन केन्द्रको गतिविधिबारे चासो राख्ने सबैका लागि सजिलो होस् भनेर अध्ययन केन्द्रले आफ्नो छुट्टै वेबसाइट पनि चलाइरहेको छ । त्यो वेबसाइट अंग्रेजीमा छ-डब्ल्युडब्ल्युडब्ल्युडटडिएसआरसिडटओआरजिडटएनपी । 'देवकोटा अध्ययन' भन्ने पत्रिकामार्फत पनि हामीले देवकोटाका कृति र योगदानलाई दुनियाँसामु पुर्‍याइरहेका छौँ । हामीत सामान्य खुडि्कला चढ्दै छौँ । हाम्रो कामलाई सरकारले पनि हेर्नुपर्ने हो । देवकोटाका कृतिको अनुवाद मात्रै गरेर पुग्दैन, त्यसको चर्चा पनि हुनुपर्छ । कृतिको अमरता पनि चर्चा र चासो भएका कृतिको मात्रै गरिने चलन छ ।
इंग्ल्यान्डमा सेक्सपियरको 'जुलियस सिजर' लगायतका नाटक स्कुलका बच्चाहरूको पाठ्यक्रममा राखिएको छ । हामीकहाँ स्कुलतहमा देवकोटाको 'मुनामदन' राख्न मानिन्न । स्कुल तहमै 'मुनामदन' विद्यार्थीले बुझ्छन् र ? भनिन्छ । तर, हामीकहाँ बुझ्न गाह्रो विद्यार्थीलाई होइन, शिक्षकलाई भइरहेको छ । एसएलसी तहमा 'मुनामदन' पूरै कृति राखेर पढाउन सकिन्थ्यो । भन्नेवेला 'मुनामदन' यति सरल, यति मीठो, सबैले बुझ्ने भनिन्छ । तर, पाठ्यक्रममा राख्न अहिले पनि कन्जुस्याइँ गरिएको छ ।

साभार:-नयाँपत्रिका दैनिक

Friday, September 18, 2009

देवकोटा शतवार्षिकी-२०६६ मा सहभागी हुनुहोस् र देवकोटा अनि उनका साहित्यबारे आफ्नो अभिव्यक्ती दिनुहोस् ।

साहित्य सुस्केरा

Sunday, September 13, 2009


- भूपी शेरचन

१.
म एक पुत्र
एक पति
र एक पिता हुँ
२. 
एक न्वारान
एक विवाह
र एक चिता हुँ
३. 
म एक होटल
एक बोतल
र एक प्याला हुँ
४. 
म एक श्रम
एक उत्पादन
र एक ज्याला हुँ
५.
म एक इन्टरभ्यु
एक लामो क्यु
र एक क्यान्डिडेट् हुँ
६. 
म एक खाली बिल
एक खाली विभाग
र एक खाली पेट हुँ
७.
म एक सभा
एक श्रोता
एक वाह
र एक ताली हुँ
८. 
म नेताजीको एक गीत
एक भाषण
र एक गाली हुँ
९.
म एक जुलूस
ए उफ्र्याइँ
एक नारा
र एक झण्डा हुँ
१०. 
म एक आवश्यकता
एक माग
एक विरोध
र एक डण्डा हुँ
११.
म केवल एक जुत्ता
एक सुरुवाल
एक कमीज
र एक कोट हुँ
१२. 
बस म केवल
एक क्रान्ति
एक प्रजातन्त्र
एक चुनाउ
र एक भोट हुँ
केवल एक भोट हुँ ।
(साभार: घुम्ने मेचमाथि अन्धो मान्छे)

गजल

- ईश्वर थोकर

शिरीषझैं निमेषमै झर्न हुन्न मान्छे,
नझर्दा नि सम्झ ज्यूँदै मर्न हुन्न मान्छे ।

भुमरीको मृगतृष्णा अनायस खोज्दै
लुकिचोरी मरुभूमि चर्न हुन्न मान्छे ।

जिन्दगीका आशाबिम्ब सयौं लाखौं तर,
आफैंदेखि भने पर सर्न हुन्न मान्छे ।

आज यहाँ भोलि कहाँ परन्तु छ जहाँ,
अत्तालिने आँट त्यहाँ गर्न हुन्न मान्छे ।

Sunday, September 6, 2009

राष्ट्रिय गीत

दिलिप योन्जन
देशको तापले पग्लियो हिमाल, हामी झै रोएर
सकिन्न कहिले युद्धको पिडा, आसुले धोएर
मार्नु र मर्नुले बन्दैन देश, बुझ है नेपाली
मार्नु र मर्नु त्यागेर भनौ, हामी हौ नेपाली।

आमालाई रुवाई यो भुमी रङाई नगरौ है हत्या
आफ्नो देश आफै आगोले सल्काई नदेखाउ बिरता
मतभेद त्यागी बैरिभाव छोडी बनाउ है नेपाल
मार्नु र मर्नुले बन्दैन देश, बुझ है नेपाली
मार्नु र मर्नु त्यागेर भनौ, हामी हौ नेपाली।

बिरता देखाई नहसाउ सत्रु दाजु-भाई लडेर
हिमाल झै अग्लो अटल बिश्वास मेटिन्न मेटेर
चम्किलो सुर्य हातले कहिले छेकिन्न छेकेर
मार्नु र मर्नुले बन्दैन देश, बुझ है नेपाली
मार्नु र मर्नु त्यागेर भनौ, हामी हौ नेपाली।

अस्टिन, अमेरिका

Tuesday, September 1, 2009

गजल

- कोइराला सूर्यकिरण
गलाले दिए पो म त्यो गीत गाऊँ
उनी छिन् त्यसैमा कसोरी म पाऊँ

ति आशा गडेका परेलीहरुको 
मायाँवी शहरमा कसोरी हराऊँ ?

सुसाउँदै गरेका यि मनका हजारौं
तरेलीहरुमा कसोरी सजाऊँ ?

र, आशा छरेको छु पानाहरुमा
ल...! आऊ ! सुनाैलो छहारी लगाऊँ

ति तारा र जुनको तुलामा छ क्वैली
उ बस्ने शहरको प्रहरमा हराऊँ

Tuesday, August 4, 2009

कहाँ छ राष्ट्रियता ?!

केदार श्रेष्ठ
हामी राष्ट्रमा छौँ
राष्ट्रियता सोच्छौँ
र भोकै मर्छौँ
हाम्रा भोकहरु बन्दकी राखेर
उसले राष्ट्रियता डकार्छ
म सोच्दैछु
"राष्ट्रियता"
डकार्नुमा छ कि
भोकमा छ !

२०६६ साउन १९

Saturday, June 20, 2009

श्यामस्वेत विज्ञापन

– रमेश भट्टराई




सपनाहरू
फुस्रो
फिका
अझ भनौं
रङ्ग विहिन
श्यामस्वेत बन्दै
गइरहेका थिए

सपनाहरू
विपनाका बीच
पुरानो
फिका

श्यामस्वेत बन्दै
गइरहेका थिए

उषासँगै
धुमिल बन्दै गइरहेका थिए
सपनाहरू

यस्तै
रङ्गीन विपनाका माझ
एउटा धुमिल सपनाजस्तो
विज्ञापन आउँछ
दैनिक पत्रिकामा
केही श्यामस्वेत विज्ञापनहरू आउँछन्
लेखिएको हुन्छ
गणतान्त्रिक नेपालका
दोस्रा प्रधानमन्त्रीलाई
हार्दिक बधाई !

सीमाना हराएको देश

दिलिप योन्जन
टनकपुर हरायो सम्झौतामा
महाकाली लुटियो सन्धिमा
टिष्टा काङ्गाडाको त के कुरा
मेरो देशको राष्ट्रियता
वीर गोर्खालीको देशमा माटो हराईरहेछ
सन्धि र सम्झौता नबुझ्ने पशु नेताहरुले
राष्ट्र र रास्ट्रियतामाथि खेलबाड गरेकोछ
पूर्वमा गएर पश्चिमको विकास, रोजगारी
पश्चिममा गएर पुर्बको बिकास सुनाएको छ
जनतालाई झुकाउनसम्म- झुकाएको छ।

बिरोध नभएको हैन बारुद गनाए पनि
मातृभुमीको माया नगरेको हैन नेपालीहरुले पनि
आस्वासन र बिस्वास नदिएको हैन
कहिले नया दिल्ली...... कहिले काठमाडौं........
मन्त्रि र सचिबको मिटिङले माटो र सिमाना हराए पनि।

देशको नक्सा फेर्दैछ, नँया डोबमा पुरानो किल्ला
मातृभुमी रोएकोछ, स्वयम्भूको आँखा रसाएको छ
ढुङा गुडाएर, घुएत्रो हानेर जोगाएको देशको सिमाना
पैसा र बैसामा रास्ट्र नेताहरुले माटो र पानी बेचेको छ
योद्धाहरुको रगतले कोरेको रेखा र देशको अस्तित्व
मान्छेको रुपमा यि ब्वासाहरुले बेचेकोछ, मेटेकोछ
५ तरे होतेलमा हुस्की र इस्कुवाचमा रमाएकाछन, नाचेका छन्
रास्ट्रको सिमाना हराएको खुसीमा
देशको माटो बेचेको खुसीमा।
अस्टिन, अमेरिका

Thursday, May 28, 2009

गजल

केदार श्रेष्ठ
पाउलिंदा पालुवा शिशीर गयो र खै ?!
फूल फुल्दैमा वसन्त कहाँ आयो र खै ?!

रोप्नलाई त रोपेकै थियो वीजहरु
आँकुराएपनि पात कति हाल्यो र खै ?!

वतासलाई हुरी बनाएर ल्याएकै हो
कसिङ्गरहरु कुन्लाई उडायो र खै ?!

रातलाई चिरेर सुनौलो रङ्गहरु छर्दै
घाम उदाएपनि विहान भयो र खै ?!

फाटेका मनहरु सिलाउँछौ रे नि हो ?
सिलाउन सङ्गै सियो लिइ आयो र खै ?!

Friday, May 22, 2009

गजल


Host unlimited photos at slide.com for FREE!
रामशरण प्रयास

कुहिएका फलहरु झार्न सक्नुपर्छ
नयाँ नयाँ विरुवाहरु सार्न सक्नुपर्छ

आँखाहरुले उज्यालोको खोजी गर्दै गर्दा
जोगाउन विरुवालाई बार्न सक्नुपर्छ

आतुर छन् खुट्टाहरु अघी बढ्नलाई
सबै हिंड्ने बाटोहरु खार्न सक्नुपर्छ

सबैले नै भनिराछन् नयाँको हो पालो
बांगालाई जनजालमा पार्न सक्नुपर्छ

बनाउने कुरा हैन आफ्नै दुनो सोझो
राष्ट्रघातीहरुलाई मर्न सक्नुपर्छ ।

हामी नेपाली

दिलिप योन्जन

छिटै देउ, देशलाई गती
गरी देउ, नेपालको प्रगती।

कति दिन, बिगार्छौ मती
आखिर देशकै, हुन्छ बिगती।

कहिले नारा, कहिले जुलुस
सधै बाला, नेताको पुत्ला।

बैमानी बेइजती, भ्रस्ट नेताको
बिरोध गालीले, झर्दैन भुत्ला।

कतै पेट्रोल, कतै पानी
जनतालाई बेकुब, बनाउ जानी२।

आफै बोक्सी, आफै धामी
जनता मार, गोली हानी२।

लडाई गर, पदको लागी
झुकाउ जनता, दिनै ढाटी।

कहिले मन्त्री,कहिले मन्त्रालय
खाओ सबै, लुछा चुडी।

जनताको सम्स्या, नहेर कहिले
लडाई गर, सधै रोस्टम-घेरी।

नारा लगाउ, मधिसे पाहाडे
देश चिर, धुजा२ पारी।

जसको सक्ति, उसको गदी
लड नेता, कुकुर सरी।

कोही ब्वासो, कोही धमिरा
सब्ले फेर्यो, सर्पे काचुली।

घर न घाट, सधै जनता
खुसी मनाउ, भत्ता थापी।

गर सधै, गाली बेजती
कती गर्छौ, देशको बदनामी।

देखाउ दात, सधै बिदेसीलाई
सधै बन्यो, नेता कठ-पुतली।

देश जनताको, वास्ता छैन
पदकै लाग्यो, सधै भोक-मारी।

राजा जनता, भए पछी
किन भत्ता, दिन्छौ मन्त्री।

सबै सम्पती, रास्टिय्करन गर
गर्छौ भने, देशको प्रगती।

कि खान्छौ, टिके मन्त्री
आउला जनता, तिम्रो मलामी।

बुदको देशमा, छाओस सान्ति
अब नबगाउ, रगतको खोली।

के धर्म के जात, त्यागौ बैरीभाब
सबले भनौ, हामी नेपाली।

हाम्रो नेपाल, हामी नेपाली

अस्टिन अमेरिक

Wednesday, March 25, 2009

मेरो नेपाल

दिलिप योन्जन

धेरै भयो, न लेखेको, देश सम्झि किन
के लेख्नु, मनै रुवाई, नेता देखी किन।

बहुदल आयो, बहुदल खायो, लुटे सबले देश
कोही तराई, कोही पाहाड, नरहने भो भेष।

हुटिटयाउ भई, देश थाम्ने, गिरिजा देशको नेता
गिद र ब्वासोको, लुछा चुडीमा, हुनेभो देश सुहा।

कहिले माओबादी,कहिले खाओबादी,सबले मारे जनता
गनतत्रको नाममा, खेल्नु खेले, देशै भयो गन्धा।

जनता मरे, देशको नाममा, नेताको भो चइन
बाडी चुडी, खाए देशको बजेट, बनाई आफै एन।

नाङो जनता, गरीब देश, राजा देसको धनी
बिष्नुको अबतार, घर न घाटको, गरे सि मन्परी।

कुर्सी प्यारो, पद राम्रो, लाचारी-बैमानी नेतालाई
देश बनाउ, लागेन कहिले, बादरे नितीको नेतालाई।

महङी बडाछ, आम्दानी छैन, जनताको भो बेहाल
कुर्सीको लागी, कुकुर झै लड्छ, नेता भो पागल।

बुदको देश, हिन्दु राष्ट्र, सबै भो चक्नाचुर
सत्यको सधै, बिजय हुन्छ, गरे नि अत्याचार।

सन्धि सम्झौता, थाहा नहुने, नेपालको बरिस्ट नेता
कहिले टिस्टा, कहिले टनक्पुर, सार्याछ देशको सिमाना।

नगर्नु भरोसा, नेपाली नेताको, बेच्याछ नदी नाला
होसियार हुनु, देशलाइ बेची, बिदेश पोइला जाला।

भाषन गर्छ, नकली नाटक, सधै जनता छकाउन
चुनाब आयो, जान्छ गाँउ, फटाहा जनतालाइ फकाउन।

झोला चपलमा, भेटिने नेताको, काठ्मा गाडी महल
देशको बजेट, भाग बन्डा लाए, नेता बनेर दलाल।

देशको लागी, सहिद भयो, भोक-भोकै बल-बच्चा
नपाउदा खाना, बिधुवा बुढी, बेच्दैछ सहिदको सपना।

झुकाई जनता, लुटेर देशलाई, मनाउ खुब मज्जा
कुन दिन हान्छ, ज्ञानेलाई जस्तो, जनताले जोर लात्ता।

भना-भन, हाना थाप मै, अल्झियो देशको रजनिती
पद कै भोका, बदनामी नेताहरुले, गर्लार देशको प्रगती।

दिनमा यता, रातमा उता, फेर्नु फेर्यो नेताले रुप
मदभेद त्यागी, देश बनाउन, कहिले होला एकजुट।

नेता मिली, जनता लडाउ, अझै मार्नु मार पापी
देश जलाई, जनता रुवाई, गर्नु मोज गर जाली।

कहिले तराई, कहिले भ्याली, बन्द गर टाएर बाली
देश जलाई, आगो ताप्ने, नेता कती भाग्य मानी।

डुले पनि, देश बिदेश, फेरिएन कहिले नेताको गिह्दि
मेरै गोरुको, बारै ट्क्का, छोडेन भडुवाले लेडे ढिप्पी।

प्रडो पाजेरो, माडेको घरमा, नेता बिक्यो पैशाको लागी
लाज सरम, सबै चपाए, नेतालाई लाग्यो भोक मारी।

बनाउ नेपाल, सुन्दर सान्त, बिश्वमा नेपाली चिनाउन
नगरी युद, भैइ एक जुट, बनाउ हामीले नेपाल।

सबैले भनौ, जय२ नेपाल, नेपाली सब समान
हातमा हात राखी, कसम खाई, बनाउ हाम्रो नेपाल।
Austin, USA

Monday, December 29, 2008

देख्न छाड्दिन सपना

Host unlimited photos at slide.com for FREE!
एकल यात्री

थाके पनि गोडाहरु
गले तापनि शरीरहरु
खाइए पनि ठक्कर
प्रत्यक पाइलामा
अल्मलिए पनि बाटाहरु
प्रत्यक भोडमा
म सार्न छाड्दिन पाइला
म हिँड्न छाड्दिन यात्रा ।

आइपरे तापनि दु:खहरु
खानु परे ता पनि हण्डरहरु
झर्नै परे पनि प्रत्यक चाढाइमा
ओर्लनै परे पनि प्रत्यक उक्लाइमा
म चढ्न छाड्दिन शिखर
म उक्लिन छाड्दिन पहाड ।

अस्ताए पनि सूर्य
ओर्ले पनि घाम
छोपे पनि धर्ती रातले
डुबे पनि वस्ती अन्धकारमा
म गर्न छाड्दिन
विहानीका कल्पनाहरु
म देख्न छाड्दिन उज्याला सपनाहरु
(साहित्य सुस्केराको आठौँ शृङ्‍खलामा वाचित)

गजल

अक्कल लामा

यो शहर फिर्दै आएँ
गाउँघर चिर्दै आएँ

सपना छ थाप्लोभरी
र त नाम्लो भिर्दै आएँ

गाँस, बास, कपासले
मात्र यहाँ पिर्दै आएँ

गावैँ थियो प्यारो तर
वाध्यताले गिर्दै आएँ

(साहित्य सुस्केराको आठौँ शृङ्‍खलामा वाचित)

Sunday, December 21, 2008

ए जून !

भूपी शेरचन

मेरो जस्तै ए जून !
झुटो हो तिम्रो हाँसो पनि
फरक छैन तिम्रो र मेरो
भित्र–भित्र रोएर पनि
बाहिरबाट हाँस्ने बानीमा
फरक यति मात्र छ
हामी दुईटाको कहानीमा
कि तिमी रून्छौ
र तिम्रो आँसु शीत बन्छ
म रून्छु
र मेरो आँसु गीत बन्छ ।

घुम्ने मेचमाथि अन्धो मान्छेबाट
सभार: अनाम पुस्तकालय
www.nepalibloglist.blogspot.com

सगरमाथाको सन्देश

कृष्ण प्रसाइ

मलाई धेरै रहर थियो
सगरमाथासंग प्रेम गर्ने -
जानु पर्ने
धेरै समुद्रहरु छिचोलेर -
कस्तो दुर्भाग्य !
जानै सकिन,
अस्ती भर्खर फेरी -
सरक्सान* भनेर
सन्देश पठाएको रहेछ -
मलाई पर्खदा पर्खदै
उ सेतै फुलिसक्यो रे ।

*दक्षिण कोरियाको सबैभन्दा उचाइ भएको पहाड
दक्षिण कोरियाबाट

Monday, December 1, 2008

जीवन र मृत्यु

-निभा शाह

मलाई जीवन पनि मन पर्छ
मलाई मृत्यु पनि मन पर्छ
मृत्यु छ र त जीवन छ
जीवन छ र त मृत्यु छ
तर म दुबैका विरुद्ध लड्छु
जीवन सुन्दर बनाउन
मृत्युसँग लड्छु
मृत्यु सुन्दर बनाउन
जीवनसँग लड्छु
म दुबैका विरुद्ध लड्छु
र अविराम युद्ध लड्छु
Align Right