केदार श्रेष्ठ
यो त्यो गाउँको कथा हो जुन गाउँ पुरानै रीतिरिवाज र आर्दशबीच जेलिएको छ । त्यस गाउँको एउटा मध्यम खालको घरमा अलि बढी नै मानिसहरुको चहलपहल छ । त्यस घरका परिवारका सदस्यहरु अरु दिनमा भन्दा बढी नै चल्दाफुर्दा देखिन्छन् । उनीहरुले घरमा आएका मानिसहरुलाई सत्कार गर्न पनि भ्याएका छन् खित्का छोड्दै कुराकानी गर्न पनि भ्याएका छन् । जेहोस् आज घरका मानिसहरुको अनुहार सदाभन्दा हँसिलो भएको प्रष्ट देखिन्छ । घरको छेवैमा भएको बाख्राको टाँडबाट अघिदेखि नै एउटा बोकाले यी कि्रयाकलाप ध्यानपूर्वक हेरिरहेको थियो । उसमा यति धेरै मान्छेहरु किन जम्मा भा'को होलान् ? भन्ने कुराको खुल्दुली भइरहेको थियो । अनि त्यो बोका घोरिएर मनमनै बोल्न थाल्यो- 'पक्कै पनि आज यहाँ कुनै खुशीको भोज हुनलागेको हुनुपर्छ नत्र यति धेरै मान्छेहरु विनासित्ति के गर्न आउँथे उही भोजै भएर त होला नि ।'
त्यस घरको जेठो छोराको सन्तानप्राप्तिको खुशीयालीमा न्वारनको भोज हुन लागेको रहेछ । त्यसैले उनीहरुले आफ्ना इष्टमित्रहरुलाई निमन्त्रणा गरेका रहेछन् । भोजकै चहलपहल हो भन्ने यकिन भएपछि टाँडबाट अघिदेखि नै ध्यान दिइरहेको बोकामा एउटा गजबको इष्र्या जाग्न थाल्यो । 'आ ! कति घाँसमात्र खानु कहिलेकाहीँ यी मान्छेले खाने गरेका खाना खान पाएपनि त हुने नि । बरु तिनीहरुले छाडेको रहलपहल भए पनि मज्जै हुन्थ्यो ।'
यस्ता कुराले बोकाको मनमा बास लिएपछि पक्कै पनि रहलपहल भएपनि पाइएलाजस्तो छ भन्ने सोचेर त्यसलाई नाचूँ-नाचूँ लाग्यो उफ्रू-उफ्रू लाग्यो खुशीले के गरुँ कसो गरुँ भयो । हुन त त्यस बोकाले भोजको कुरा टाँडमा भएका अरु बाख्राहरुलाई पनि सुनाउन नखोजेको होइन तर आफ्नो भाग घट्ने पो हो कि भन्ने डरले अरुलाई अत्तोपत्तो दिएन । फेरि अरु बाख्राहरुलाई यस्ता कुरामा खासै वास्ता पनि थिएन ।
यत्तिकैमा दुईजना मानिस टाँडतिर आउँदै थिए । एउटा चाहिँले 'भरिएको डिक्ची' बोकेको थियो । यो देखेर 'पक्कै पनि मेरो लागि केही ल्याएको हुनुपर्छ । साँच्ची यिनीहरुले मलाई कति माया गर्छन् ।'भन्ने सोचेर बोकामा हर्षको सीमा रहेन । त्यसपछि एउटा मान्छेले चाहिँ टाँडबाट दाम्लो फुकाएर बोकालाई आँगनतिर लग्यो र एउटा किलामा बाँध्यो । यतिखेरसम्म बोकामा भोजको कल्पनाले छोडको थिएन । तर त्यो धैरैबेर सम्म रहन सकेन । जब आँगनको किलामा बाँधिएको त्यस बोकाको गर्धनतिर धारिलो हतियार जोडतोडले खस्न लाग्यो यसले उसको आँखामा परेको एक किसिमको चमकले पलक झट्ट बन्द हुन पुग्यो तब त्यस बोका छाँगाबाट खसेजस्तै भयो । अनि त्यसको आँखा छेवैमा भरिएको डिक्चीमा अगेनामाथि उम्लिरहेको पानीमा पर्यो । त्यतिखेर त्यो निरिह भएर आफ्नो गर्धन हतियारलाई समर्पण गर्नु सिवाय अरु केही गर्न सकेन ।
'नवयुवा' मासिक पूर्णांक १०६ मा प्रकाशित
No comments:
Post a Comment