केही नेपाली साहित्यकारहरु

Sunday, December 21, 2008

ए जून !

भूपी शेरचन

मेरो जस्तै ए जून !
झुटो हो तिम्रो हाँसो पनि
फरक छैन तिम्रो र मेरो
भित्र–भित्र रोएर पनि
बाहिरबाट हाँस्ने बानीमा
फरक यति मात्र छ
हामी दुईटाको कहानीमा
कि तिमी रून्छौ
र तिम्रो आँसु शीत बन्छ
म रून्छु
र मेरो आँसु गीत बन्छ ।

घुम्ने मेचमाथि अन्धो मान्छेबाट
सभार: अनाम पुस्तकालय
www.nepalibloglist.blogspot.com

सगरमाथाको सन्देश

कृष्ण प्रसाइ

मलाई धेरै रहर थियो
सगरमाथासंग प्रेम गर्ने -
जानु पर्ने
धेरै समुद्रहरु छिचोलेर -
कस्तो दुर्भाग्य !
जानै सकिन,
अस्ती भर्खर फेरी -
सरक्सान* भनेर
सन्देश पठाएको रहेछ -
मलाई पर्खदा पर्खदै
उ सेतै फुलिसक्यो रे ।

*दक्षिण कोरियाको सबैभन्दा उचाइ भएको पहाड
दक्षिण कोरियाबाट