केही नेपाली साहित्यकारहरु

Friday, November 13, 2009

हात्तीजस्ता मेरा बा

सङ्गीतश्रोता
महाकवि लक्ष्मीप्रसाद देवकोटाका पुत्र प्रा.डा. पद्मप्रसाद नेपाली समालोचनामा महाकविका कृतिहरूको राम्रो अध्ययन नै नगरिएको दाबी गर्छन् । उनी देवकोटाका छोरा मात्रै होइनन्, नेपाली साहित्यको अध्येता र अंग्रेजी साहित्यको प्राध्यापकसमेत हुन् । उनी देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्रका अध्यक्ष पनि छन् । देवकोटाकृत साहित्यको कम अध्ययन भएको निष्कर्षमा पुग्न पुत्र देवकोटासँग केही तर्क र तथ्य छन् । यसपटक साहित्यिक कोणबाट उनले आफ्ना पिताको स्मरण गरेका छन् । प्रस्तुत छ, महाकविकै शतवाषिर्कीको अवसरमा पिता देवकोटामाथि पुत्र देवकोटाको साहित्यिक दृष्टिःलक्ष्मीप्रसाद देवकोटाको छोरा भएर भन्दा पनि उहाँका कृतिको पाठक र साहित्यको विद्यार्थीका नाताले कहिलेकाहीँ म उहाँको योगदानबारेमा घोत्लिने गर्छु । नेपाली साहित्यमा उहाँले जे-जति योगदान दिनुभएको छ, त्यसको समग्र अध्ययन पुगेको छ भन्ने मलाई लाग्दैन ।
भन्नलाई मात्रै उहाँलाई महाकवि-महाकवि भनिन्छ । त्यसो भनेर मात्रै त न उहाँका सिर्जनाको अध्ययन हुन्छ, न उहाँको योगदानको सम्मान हुन्छ । उहाँलाई गहिरिएर अध्ययन गर्ने हो भने महाकवि भनिराख्नुपर्दैन, लक्ष्मीप्रसाद देवकोटा मात्रै भने पुग्छ । उहाँको व्यक्तित्व कविको मात्रै हो कि जस्तो चर्चा पनि गरिन्छ । उहाँको व्यक्तित्वका विभिन्न आयामलाई हामीले बिर्सिराखेका छौँ । खै, उहाँको कथाकार व्यक्तित्वको बारेमा अध्ययन ? खै, उहाँका नाटकहरूको अध्ययन ? हुन त समयमै कथा/नाटक आदिका संकलनको प्रकाशन नभएकाले पनि उहाँका राम्रा-राम्रा कथा/नाटकको गहिरो अध्ययन नभएको होला । तर, पछि उहाँको बारेमा अध्ययन गर्नेले त यस विषयमा खोजी गर्नुपर्ने हो ! हाम्रा कतिपय विश्वविद्यालयमा देवकोटाको समग्र अध्ययन गर्ने व्यवस्था छैन ।

नेपाली साहित्यको आधुनिकता कसको नेतृत्वमा स्थापित भयो ? मेरो बुझाइमा नेपाली साहित्यको आधुनिकता देवकोटाको आधुनिकताभित्र परिभाषित हुनु आवश्यक छ । नेपाली साहित्यको आधुनिकतामा देवकोटा खोज्ने होइन, देवकोटाको आधुनिकताभित्र नेपाली साहित्य कहाँ छ भनेर खोज्नुपर्ने हुन्छ । मैले त नेपाली साहित्यमा नै सम्पूर्ण रूपमा सिंगो देवकोटा मात्रै देखेको छु । यो मेरो अन्धता पनि हुनसक्छ । तर, महाकविको योगदानबारे जे-जति अध्ययन हुनुपर्ने हो, त्यो पनि भएको छैन ।
नेपाली साहित्यमा समालोचनाको सुरुदेखिकै प्रवृत्ति महानतामा जोड दिने प्रवृत्ति हो । देवकोटालाई पनि प्रायः नेपाली समालोचकले उहाँको महानताबाट प्रभावित भएर श्रद्धापूर्वक हेरे । उहाँको व्यक्तित्व नै कति प्रभावशाली थियो भने त्यसैको उकुसमुकुसले उहाँप्रति सम्मान र श्रद्धा प्रकट गरियो । श्रद्धा गरिनु नराम्रो कुरा त होइन । तर, समालोचना भनेको श्रद्धा मात्रै होइन । समालोचना समालोचकको आफ्नो दृष्टिकोणअनुसारको अभिव्यक्ति वा प्रतिक्रिया मात्रै हो । समालोचना सबैले एउटै कोणबाट एउटै सिद्धान्तअनुसार गर्नुपर्छ भन्ने हुँदैन । मोदनाथ प्रश्रतिले माक्र्सवादी दृष्टिकोणले हेर्नुभयो भन्दैमा त्यो गलत वा अर्को कसैले अर्को कुनै सिद्धान्तका आधारमा हेर्‍यो भन्दैमा त्यो सही भन्ने हुँदैन । अनगिन्ती दृष्टिकोण हुन्छन्, तिनले अध्ययन गर्दै जान्छन् । टिप्पणी-प्रतिटिप्पणी हुन्छ । यो त निरन्तरको प्रक्रिया हो ।
समालोचकहरूले कसैले देवकोटालाई प्रगतिवादी, कसैले स्वच्छन्दतावादी, कसैले स्वच्छन्दतावादी-प्रगतिवादी, कसैले माक्र्सवादी भनेर दाबी गर्छन् । मलाई पनि कहिलेकाहीँ सोधिन्छ- देवकोटा के वादी हुन् ? यथार्थमा देवकोटा नेपाली साहित्यको त्यस्तो हात्ती रहेछन्, कसैले पुच्छर छाम्छन् र लौरीजस्तो भन्छन् । कसैले खुट्टा छाम्छन् र खम्बाजस्तो भन्छन् । कसैले जिउ छाम्छन् र भित्ताजस्तो भन्छन् । आखिरमा देवकोटा सग्लो हात्ती हुन्, जसलाई सम्पूर्ण रूपमा कसैले पनि भेउ पाउन सकेका छैनन् । सबै आँखा खोलेर देवकोटाका सबै आयामको अध्ययन भएपछि नै वास्तविक देवकोटालाई दुनियाँले चिन्नेछ । म देवकोटाको छोरो भएकाले बालाई हात्तीजस्तो देखेको होइन, साहित्यको सामान्य विद्यार्थी र देवकोटाको साहित्यको पाठक भएको नाताले भनिरहेछु ।

देवकोटाको योगदानलाई नेपाल सरकारले पनि गम्भीरतापूर्वक लिएको छैन । सरकारभन्दा पनि जनताले उहाँलाई बढी सम्मान गरेका छन् । सरकारले गर्न सक्ने कतिपय काम पनि गर्नै भ्याएको छैन । साधारणभन्दा साधारण देवकोटाका कृतिको प्रकाशन/प्रवर्द्धन गर्न सक्थ्यो सरकारले, त्यो पनि गर्दैन । परराष्ट्र मन्त्रालयअन्तर्गतका विभिन्न दूतावासमा देवकोटाका कृतिका अनुवाद गरेर बाँड्न सकिन्थ्यो । विश्वविद्यालयमा कोष स्थापना गर्न सकिन्थ्यो । अहिले हामी दक्षिण एसियाली साहित्य पनि विश्वविद्यालयमा पढाउँदै छौँ । त्यो साहित्यको पाठ्यक्रममा पनि देवकोटाका कृति राख्न सरकारले पहल गर्न सक्छ । दक्षिण एसियाली साहित्यमा देवकोटाको स्थान कहाँ छ ? दक्षिण एसियाको परिभाषामा कति क्षेत्र पर्ने हो ? यस्ता कुरामा सरकारको ध्यान जानुपर्ने हो । दक्षिण एसियाको साहित्यको परिभाषा हामीले नै गर्ने हो भने त हामी देवकोटाबाटै सुरु गछौर्ं । तर, सरकारले यस्ता गम्भीर विषयमा पनि खासै महत्त्व दिएको देखिन्न । नेपाली साहित्यमा देवकोटाको योगदान जति छ, त्यसबारे सरकारको चासोचाहिँ शून्यजस्तो देखिन्छ ।
अघिल्लो वर्षको बजेट प्रस्तुत गर्दा तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले देवकोटाकै कवितांश 'उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक' उद्धृत गर्नुभएको थियो । सोही बजेटमा देवकोटाको शतवाषिर्की मनाउनका लागि भनेर सरकारले २५ लाख रकम पनि छुट्टयायो । त्यो अलिकति भए पनि नेपाली साहित्य र देवकोटाको योगदानप्रतिको सरकारको सचेतता हो । तर, त्यसका लागि पनि हामीले अझ अघिल्लो अर्थमन्त्री डा. रामशरण महतकै पालामा ठूलो प्रयत्न गरेका थियौँ । हामीले महाकवि देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्रको तर्फबाट योजना बनाएर सरकारसँग २८ लाख रुपैयाँ मागेका हौँ । पछि त्यो रकम धेरै संस्थालाई शतवाषिर्की मनाउन बाँडियो, देवकोटा केन्द्रलाई जम्मा ११ लाख प्राप्त भएको थियो । त्यसअन्तर्गतको पाँच लाखको हामीले विद्वतवृत्ति स्थापना गरेका छौँ । वर्षैभरिको शतवाषिर्की कार्यक्रमका लागि पनि हामीले छुट्टै योजना बनाएर काम पनि गरिरहेका छौँ । देशका अरू विभिन्न संघ/संस्थाले पनि अघिल्लो सालको कात्तिक २७ देखि यो वर्षको कात्तिक २७ सम्म विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन् । मलाई त देवकोटाको जन्म नोभेम्बर १२ तारिखमा गर्नु उपयुक्त लाग्थ्यो । किनभने देवकोटालाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउनका लागि त्यो मिति नै सही हो । हामी देवकोटा र उनको साहित्यिक कृतिलाई विदेशसम्म पनि पुर्‍याउन चाहन्छौँ ।

देवकोटाका बारेमा जानकारी राख्न चाहने र देवकोटा अध्ययन केन्द्रको गतिविधिबारे चासो राख्ने सबैका लागि सजिलो होस् भनेर अध्ययन केन्द्रले आफ्नो छुट्टै वेबसाइट पनि चलाइरहेको छ । त्यो वेबसाइट अंग्रेजीमा छ-डब्ल्युडब्ल्युडब्ल्युडटडिएसआरसिडटओआरजिडटएनपी । 'देवकोटा अध्ययन' भन्ने पत्रिकामार्फत पनि हामीले देवकोटाका कृति र योगदानलाई दुनियाँसामु पुर्‍याइरहेका छौँ । हामीत सामान्य खुडि्कला चढ्दै छौँ । हाम्रो कामलाई सरकारले पनि हेर्नुपर्ने हो । देवकोटाका कृतिको अनुवाद मात्रै गरेर पुग्दैन, त्यसको चर्चा पनि हुनुपर्छ । कृतिको अमरता पनि चर्चा र चासो भएका कृतिको मात्रै गरिने चलन छ ।
इंग्ल्यान्डमा सेक्सपियरको 'जुलियस सिजर' लगायतका नाटक स्कुलका बच्चाहरूको पाठ्यक्रममा राखिएको छ । हामीकहाँ स्कुलतहमा देवकोटाको 'मुनामदन' राख्न मानिन्न । स्कुल तहमै 'मुनामदन' विद्यार्थीले बुझ्छन् र ? भनिन्छ । तर, हामीकहाँ बुझ्न गाह्रो विद्यार्थीलाई होइन, शिक्षकलाई भइरहेको छ । एसएलसी तहमा 'मुनामदन' पूरै कृति राखेर पढाउन सकिन्थ्यो । भन्नेवेला 'मुनामदन' यति सरल, यति मीठो, सबैले बुझ्ने भनिन्छ । तर, पाठ्यक्रममा राख्न अहिले पनि कन्जुस्याइँ गरिएको छ ।

साभार:-नयाँपत्रिका दैनिक