केही नेपाली साहित्यकारहरु

Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Sunday, September 13, 2009


- भूपी शेरचन

१.
म एक पुत्र
एक पति
र एक पिता हुँ
२. 
एक न्वारान
एक विवाह
र एक चिता हुँ
३. 
म एक होटल
एक बोतल
र एक प्याला हुँ
४. 
म एक श्रम
एक उत्पादन
र एक ज्याला हुँ
५.
म एक इन्टरभ्यु
एक लामो क्यु
र एक क्यान्डिडेट् हुँ
६. 
म एक खाली बिल
एक खाली विभाग
र एक खाली पेट हुँ
७.
म एक सभा
एक श्रोता
एक वाह
र एक ताली हुँ
८. 
म नेताजीको एक गीत
एक भाषण
र एक गाली हुँ
९.
म एक जुलूस
ए उफ्र्याइँ
एक नारा
र एक झण्डा हुँ
१०. 
म एक आवश्यकता
एक माग
एक विरोध
र एक डण्डा हुँ
११.
म केवल एक जुत्ता
एक सुरुवाल
एक कमीज
र एक कोट हुँ
१२. 
बस म केवल
एक क्रान्ति
एक प्रजातन्त्र
एक चुनाउ
र एक भोट हुँ
केवल एक भोट हुँ ।
(साभार: घुम्ने मेचमाथि अन्धो मान्छे)

Tuesday, August 4, 2009

कहाँ छ राष्ट्रियता ?!

केदार श्रेष्ठ
हामी राष्ट्रमा छौँ
राष्ट्रियता सोच्छौँ
र भोकै मर्छौँ
हाम्रा भोकहरु बन्दकी राखेर
उसले राष्ट्रियता डकार्छ
म सोच्दैछु
"राष्ट्रियता"
डकार्नुमा छ कि
भोकमा छ !

२०६६ साउन १९

Saturday, June 20, 2009

श्यामस्वेत विज्ञापन

– रमेश भट्टराई




सपनाहरू
फुस्रो
फिका
अझ भनौं
रङ्ग विहिन
श्यामस्वेत बन्दै
गइरहेका थिए

सपनाहरू
विपनाका बीच
पुरानो
फिका

श्यामस्वेत बन्दै
गइरहेका थिए

उषासँगै
धुमिल बन्दै गइरहेका थिए
सपनाहरू

यस्तै
रङ्गीन विपनाका माझ
एउटा धुमिल सपनाजस्तो
विज्ञापन आउँछ
दैनिक पत्रिकामा
केही श्यामस्वेत विज्ञापनहरू आउँछन्
लेखिएको हुन्छ
गणतान्त्रिक नेपालका
दोस्रा प्रधानमन्त्रीलाई
हार्दिक बधाई !

सीमाना हराएको देश

दिलिप योन्जन
टनकपुर हरायो सम्झौतामा
महाकाली लुटियो सन्धिमा
टिष्टा काङ्गाडाको त के कुरा
मेरो देशको राष्ट्रियता
वीर गोर्खालीको देशमा माटो हराईरहेछ
सन्धि र सम्झौता नबुझ्ने पशु नेताहरुले
राष्ट्र र रास्ट्रियतामाथि खेलबाड गरेकोछ
पूर्वमा गएर पश्चिमको विकास, रोजगारी
पश्चिममा गएर पुर्बको बिकास सुनाएको छ
जनतालाई झुकाउनसम्म- झुकाएको छ।

बिरोध नभएको हैन बारुद गनाए पनि
मातृभुमीको माया नगरेको हैन नेपालीहरुले पनि
आस्वासन र बिस्वास नदिएको हैन
कहिले नया दिल्ली...... कहिले काठमाडौं........
मन्त्रि र सचिबको मिटिङले माटो र सिमाना हराए पनि।

देशको नक्सा फेर्दैछ, नँया डोबमा पुरानो किल्ला
मातृभुमी रोएकोछ, स्वयम्भूको आँखा रसाएको छ
ढुङा गुडाएर, घुएत्रो हानेर जोगाएको देशको सिमाना
पैसा र बैसामा रास्ट्र नेताहरुले माटो र पानी बेचेको छ
योद्धाहरुको रगतले कोरेको रेखा र देशको अस्तित्व
मान्छेको रुपमा यि ब्वासाहरुले बेचेकोछ, मेटेकोछ
५ तरे होतेलमा हुस्की र इस्कुवाचमा रमाएकाछन, नाचेका छन्
रास्ट्रको सिमाना हराएको खुसीमा
देशको माटो बेचेको खुसीमा।
अस्टिन, अमेरिका

Friday, May 22, 2009

हामी नेपाली

दिलिप योन्जन

छिटै देउ, देशलाई गती
गरी देउ, नेपालको प्रगती।

कति दिन, बिगार्छौ मती
आखिर देशकै, हुन्छ बिगती।

कहिले नारा, कहिले जुलुस
सधै बाला, नेताको पुत्ला।

बैमानी बेइजती, भ्रस्ट नेताको
बिरोध गालीले, झर्दैन भुत्ला।

कतै पेट्रोल, कतै पानी
जनतालाई बेकुब, बनाउ जानी२।

आफै बोक्सी, आफै धामी
जनता मार, गोली हानी२।

लडाई गर, पदको लागी
झुकाउ जनता, दिनै ढाटी।

कहिले मन्त्री,कहिले मन्त्रालय
खाओ सबै, लुछा चुडी।

जनताको सम्स्या, नहेर कहिले
लडाई गर, सधै रोस्टम-घेरी।

नारा लगाउ, मधिसे पाहाडे
देश चिर, धुजा२ पारी।

जसको सक्ति, उसको गदी
लड नेता, कुकुर सरी।

कोही ब्वासो, कोही धमिरा
सब्ले फेर्यो, सर्पे काचुली।

घर न घाट, सधै जनता
खुसी मनाउ, भत्ता थापी।

गर सधै, गाली बेजती
कती गर्छौ, देशको बदनामी।

देखाउ दात, सधै बिदेसीलाई
सधै बन्यो, नेता कठ-पुतली।

देश जनताको, वास्ता छैन
पदकै लाग्यो, सधै भोक-मारी।

राजा जनता, भए पछी
किन भत्ता, दिन्छौ मन्त्री।

सबै सम्पती, रास्टिय्करन गर
गर्छौ भने, देशको प्रगती।

कि खान्छौ, टिके मन्त्री
आउला जनता, तिम्रो मलामी।

बुदको देशमा, छाओस सान्ति
अब नबगाउ, रगतको खोली।

के धर्म के जात, त्यागौ बैरीभाब
सबले भनौ, हामी नेपाली।

हाम्रो नेपाल, हामी नेपाली

अस्टिन अमेरिक

Wednesday, March 25, 2009

मेरो नेपाल

दिलिप योन्जन

धेरै भयो, न लेखेको, देश सम्झि किन
के लेख्नु, मनै रुवाई, नेता देखी किन।

बहुदल आयो, बहुदल खायो, लुटे सबले देश
कोही तराई, कोही पाहाड, नरहने भो भेष।

हुटिटयाउ भई, देश थाम्ने, गिरिजा देशको नेता
गिद र ब्वासोको, लुछा चुडीमा, हुनेभो देश सुहा।

कहिले माओबादी,कहिले खाओबादी,सबले मारे जनता
गनतत्रको नाममा, खेल्नु खेले, देशै भयो गन्धा।

जनता मरे, देशको नाममा, नेताको भो चइन
बाडी चुडी, खाए देशको बजेट, बनाई आफै एन।

नाङो जनता, गरीब देश, राजा देसको धनी
बिष्नुको अबतार, घर न घाटको, गरे सि मन्परी।

कुर्सी प्यारो, पद राम्रो, लाचारी-बैमानी नेतालाई
देश बनाउ, लागेन कहिले, बादरे नितीको नेतालाई।

महङी बडाछ, आम्दानी छैन, जनताको भो बेहाल
कुर्सीको लागी, कुकुर झै लड्छ, नेता भो पागल।

बुदको देश, हिन्दु राष्ट्र, सबै भो चक्नाचुर
सत्यको सधै, बिजय हुन्छ, गरे नि अत्याचार।

सन्धि सम्झौता, थाहा नहुने, नेपालको बरिस्ट नेता
कहिले टिस्टा, कहिले टनक्पुर, सार्याछ देशको सिमाना।

नगर्नु भरोसा, नेपाली नेताको, बेच्याछ नदी नाला
होसियार हुनु, देशलाइ बेची, बिदेश पोइला जाला।

भाषन गर्छ, नकली नाटक, सधै जनता छकाउन
चुनाब आयो, जान्छ गाँउ, फटाहा जनतालाइ फकाउन।

झोला चपलमा, भेटिने नेताको, काठ्मा गाडी महल
देशको बजेट, भाग बन्डा लाए, नेता बनेर दलाल।

देशको लागी, सहिद भयो, भोक-भोकै बल-बच्चा
नपाउदा खाना, बिधुवा बुढी, बेच्दैछ सहिदको सपना।

झुकाई जनता, लुटेर देशलाई, मनाउ खुब मज्जा
कुन दिन हान्छ, ज्ञानेलाई जस्तो, जनताले जोर लात्ता।

भना-भन, हाना थाप मै, अल्झियो देशको रजनिती
पद कै भोका, बदनामी नेताहरुले, गर्लार देशको प्रगती।

दिनमा यता, रातमा उता, फेर्नु फेर्यो नेताले रुप
मदभेद त्यागी, देश बनाउन, कहिले होला एकजुट।

नेता मिली, जनता लडाउ, अझै मार्नु मार पापी
देश जलाई, जनता रुवाई, गर्नु मोज गर जाली।

कहिले तराई, कहिले भ्याली, बन्द गर टाएर बाली
देश जलाई, आगो ताप्ने, नेता कती भाग्य मानी।

डुले पनि, देश बिदेश, फेरिएन कहिले नेताको गिह्दि
मेरै गोरुको, बारै ट्क्का, छोडेन भडुवाले लेडे ढिप्पी।

प्रडो पाजेरो, माडेको घरमा, नेता बिक्यो पैशाको लागी
लाज सरम, सबै चपाए, नेतालाई लाग्यो भोक मारी।

बनाउ नेपाल, सुन्दर सान्त, बिश्वमा नेपाली चिनाउन
नगरी युद, भैइ एक जुट, बनाउ हामीले नेपाल।

सबैले भनौ, जय२ नेपाल, नेपाली सब समान
हातमा हात राखी, कसम खाई, बनाउ हाम्रो नेपाल।
Austin, USA

Monday, December 29, 2008

देख्न छाड्दिन सपना

Host unlimited photos at slide.com for FREE!
एकल यात्री

थाके पनि गोडाहरु
गले तापनि शरीरहरु
खाइए पनि ठक्कर
प्रत्यक पाइलामा
अल्मलिए पनि बाटाहरु
प्रत्यक भोडमा
म सार्न छाड्दिन पाइला
म हिँड्न छाड्दिन यात्रा ।

आइपरे तापनि दु:खहरु
खानु परे ता पनि हण्डरहरु
झर्नै परे पनि प्रत्यक चाढाइमा
ओर्लनै परे पनि प्रत्यक उक्लाइमा
म चढ्न छाड्दिन शिखर
म उक्लिन छाड्दिन पहाड ।

अस्ताए पनि सूर्य
ओर्ले पनि घाम
छोपे पनि धर्ती रातले
डुबे पनि वस्ती अन्धकारमा
म गर्न छाड्दिन
विहानीका कल्पनाहरु
म देख्न छाड्दिन उज्याला सपनाहरु
(साहित्य सुस्केराको आठौँ शृङ्‍खलामा वाचित)

Sunday, December 21, 2008

ए जून !

भूपी शेरचन

मेरो जस्तै ए जून !
झुटो हो तिम्रो हाँसो पनि
फरक छैन तिम्रो र मेरो
भित्र–भित्र रोएर पनि
बाहिरबाट हाँस्ने बानीमा
फरक यति मात्र छ
हामी दुईटाको कहानीमा
कि तिमी रून्छौ
र तिम्रो आँसु शीत बन्छ
म रून्छु
र मेरो आँसु गीत बन्छ ।

घुम्ने मेचमाथि अन्धो मान्छेबाट
सभार: अनाम पुस्तकालय
www.nepalibloglist.blogspot.com

सगरमाथाको सन्देश

कृष्ण प्रसाइ

मलाई धेरै रहर थियो
सगरमाथासंग प्रेम गर्ने -
जानु पर्ने
धेरै समुद्रहरु छिचोलेर -
कस्तो दुर्भाग्य !
जानै सकिन,
अस्ती भर्खर फेरी -
सरक्सान* भनेर
सन्देश पठाएको रहेछ -
मलाई पर्खदा पर्खदै
उ सेतै फुलिसक्यो रे ।

*दक्षिण कोरियाको सबैभन्दा उचाइ भएको पहाड
दक्षिण कोरियाबाट

Sunday, July 27, 2008

को हो तपाई ?

Host unlimited photos at slide.com for FREE!
निरज बलामी
मैले ‘अ’ भन्दा
ऊ ‘अनार’ भन्दै कराउँथ्यो
मैले ‘क’ बोल्दा
ऊ ‘कलम’ भन्दै चिच्याउँथ्यो
मैले 'A' भन्दा
ऊ 'Apple' भन्दै उफ्रन्थ्यो

यात्राको एउटा मोडमा
भेट भएको छ फेरि
टाढा भइसकेका अनुहारका आँखा
जुधेका छन् फेरि

चंचल थियो ऊ
शान्त छ
बोलक्कड थियो ऊ
शिष्ट छ
म अझै मास्टर छु स्कूलको
उसको स्थान विशिष्ट छ

पढाएका दिनहरु सम्झिँदै, गुन्दै
माया गरेका क्षणहरु सम्झिँदै, रमाउँदै
गाली गरेका पलहरु सम्झिँदै, खुम्चँदै
म सोध्छु
‘बाबु के छ?’
ऊ हेर्छ पुलुक्क मेरो अनुहारमा र बोल्छ
‘माफ गर्नुहोस् महाशय,
मैले चिनिनँ,
तपाईँ को हुनुहुन्छ ?’
२०६५/०४/०३(गुरुपूर्णिमा)
(साहित्य सुस्केराको तेस्रो शृङ्‍खलामा वाचित)

Tuesday, July 1, 2008

धर्ती सिंगार्न चाहन्छन्



सन्तोषी श्रेष्ठ

भर्खरै कोपिलाको ढोका खोलेर
संसार चिहाउँदै मुस्कुराइरहेका फूलहरु
धर्तीभरी आफ्ना वासना छर्ने तरखर गरिरहेछन्
नयाँ नयाँ पालुवाहरु, चौतारी र आँगनहरुमा
शीतल बतास बाहाउने प्रयत्न गरिरहेछन् ।

बहेली खेल्दै धानले
भकारीका सपनाहरु फुराइरहेछन्
निरन्तर नदीहरु धर्तीलाई जीवन भर्दै
निस्वार्थ अभिलाषामा पौदिरहेछन् ।

टुकीहरु आफै बल्दै उज्यालो छरिरहेछन्
छानाहरु आफू रुझ्दै ओतिरहेछन्
बाटाहरु हिँड्न पाइलाहरु
शब्दहरु बोल्न ओठहरु
सबै आफ्ना कर्म गर्न खोजिरहेछन् ।

तर यहाँ
सपनाहरु लुटिन्छन
र त फूलहरु भाँचिन्छन
आशाहरु टुक्राइन्छन्
र त बाटाहरु भात्काइन्छन् ।
अझै पनि
फूलहरु, पालुवाहरु, नदीहरु
छानाहरु, बाटाहरु र ओठहरु
धर्ती सिंगार्न चाहन्छन्
संसार बदल्न चाहन्छन् ।
कक्षा ९
गीतामाता उच्च मा.वि.
(साहित्य सुस्केराको दोस्रो शृङ्‍खलामा वाचित)

Sunday, June 29, 2008

नयाँ घर बनाऔँ

Host unlimited photos at slide.com for FREE!
केदार श्रेष्ठ

थोत्रो भयो हाम्रो घर, मलाई सारै भयो डर
यसलाई भत्काएर लौ बनाऔँ नयाँ घर !

म पर्खाल उठाउँछु, साथी तिमी ढुङ्गा ल्याउ
झ्याल-ढोका ठीक्क ठाउँमा राखी नयाँ घर बनाऔँ !

आफ्नै काठ, आफ्नै माटो, आफ्नै ढुङ्गा राम्रो होला
पौरख आफ्नै लगाएमा घर साँच्चै हाम्रो होला !

अर्काको मुख ताक्न छाडी हामी मिली जग बसालौँ
ब्वाँसालाई छेको हाली सुन्दर जब्बर घर बनाऔँ !

गरेदेखी नहुने रैनछ मोती फल्छ पाखामा
हाम्रो नयाँ घरको गीत गाऔँ एउटै भाकामा !

(बालकोसेली मासिकको पूर्णांक ४७ मा प्रकाशित)

वलिदानी वेग

Host unlimited photos at slide.com for FREE!
जनकवि दुर्गालाल श्रेष्ठ

फूल्न त हो है ढक्क फुलेकै
अज बगरमा फूल
तर कसरी म भनूँ कि यही हो
परिवर्तन आमूल

अज तिमीलाई जनताले
जब पहिरायो जीत
अहह ! तिमीले पनि उल्टै पो
गाउन थाल्यौ गीत -

'ब्वाँसोले पनि पाओस बाँच्न
जन्तु हुँदै हो खास
उसले पनि हाम्रो गोठैमा
पाओस् सजिलै बास'

सत्ता - यो नेपाली सत्ता
के हो यसको जात ?
जो आएपनि पाएकै छ
जनताले आघात !

भत्काई नारांहिटिलाई
पारे पनि पातल,
राजतन्त्र मेटिन्न यहाँ है
हुन्न नयाँ नेपाल !

हैन हैन नारांहिटि हैन
राजतन्त्रको बास
त्यसको प्राण त नेताकै हो
राजा बन्ने प्यास !

तर वलिदानी वेग समयको
अब रुक्ने छैन,
बाटो छेक्ने कोही नेता
अब बच्ने छैन !
-प्रथम पटक प्रकाशित
(साहित्य सुस्केराको दोस्रो शृङ्‍खलामा वाचित)

Friday, June 13, 2008

सडक

Host unlimited photos at slide.com for FREE!
अच्यूत अधिकारी 'पलास'

बढ्दो चापमा
चाप्दो रापसंगै
सडक अनवरत जल्दै
ढुङ्गा, गिट्टी र वालुवाहरु बाल्दै
अलकत्रा पगाल्न
सडक राँको बोकेर
गोधुली संगै कुदिरहेछ
आला रगतका टाटाहरु
पहिलो
दोस्रो
तेस्रो
क्रमश: अनगिन्ती खातहरुमा
खात थप्दै सडक उचाइ थपिरहेछ
छरपस्ट लासहरु
एक
दुई
तीन
हजारै हजारका
असरल्ल छरिएका चप्पलहरु
छरपस्ट आंशिक अंग बोकेर
बाघ स्वरमा
चिच्याउने सडक
पहाड फोर्दै
कोशी नाघ्दै
जलजला भेट्न
लम्किरहेको तातो सडक
सगरमाथा गाबेर
कर्णाली बगाउदै
रातो गोल बोकेर
ताराको लाममा
आजपनि
सडक कुदिनैरहेछ
सडक दौडिनैरहेछ
झण्डा हल्लिदैं
मुट्ठी उठिरहेको बेला
धर्ती डगमगाउदै
भेल सुसाउँदा
डुम............
डुम.......
डुम..
एक..
दुई.......
तीन.............
इतिहास बोकेर
आजपनि
सडक बँचिरहेछ ।

शब्दकोष

विमल निभा

हिजोआज शब्दहरुले
एउटै अर्थ दिन थालेका छन्

उदाहरणको लागि
तपाईँ संसदलाई संसद् भन्नोस्
अथवा सुपर मार्केट
आन्दोलनलाई आन्दोलन भन्नोस्
अथवा धोकामनीषीलाई मनीषि भन्नोस्
अथवा गड्यौँला
संविधानलाई संविधान भन्नोस्
अथवा चुटकिला
साहुकारलाई साहुकार भन्नोस्
अथवा रक्तजीवी
विचारलाई विचार भन्नोस्
अथवा र्वीयपात
नायकलाई नायक भन्नोस्
अथवा भारदार
न्यायलाई न्याय भन्नोस्
अथवा गाली
भद्रजनलाई भद्रजन भन्नोस्
अथवा दलाल
झण्डालाई झण्डा भन्नोस्
अथवा मखुण्डो
सिंहदरबारलाई सिंहदरबार भन्नोस्
अथवा जुवाघर
व्यवस्थालाई व्यवस्था भननोस्
अथवा जङ्गल
रक्षकलाई रक्षक भन्नोस्
अथवा अपराधी
राजनीतिलाई राजनीति भन्नोस्
अथवा ठेकेदारी
देशलाई देश भन्नोस्
अथवा वधस्थल
कुनै फरक पर्नेछैन
चलाखी, महल, सिद्धान्त
जननायक, साइकल, लामखुट्टे
बहुमत, घुस, घाँस
ढुङ्गा, कर्फ्यू, फूल
पहलमान, वंशावली, रात
बारुद, लाइसेन्स, जय नेपाल
समीकरण, गमला, गीत
मन, कमरेड, दमकल
पासपोर्ट, मानिस, हिमाल
पार्टि, श्रीपेच, खेल
दलबदल, आलोचना, पैसा
अभियान, बल, समाजवाद
अमेरिका, भकारी, अविश्वास
इतिहास, कूटनीति, दलदल आदिमा
अब कुनै भेद छैन

म निरन्तर पाना पल्टाएर हेरिरहेछु
लोकतन्त्रको शब्दकोशमा
शब्दहरुले अर्थ हराएकाछन्

Sunday, June 8, 2008

The Life Poem

Host unlimited photos at slide.com for FREE!
Shrijana K.C.

Frustration came to attack me,
But it couldn’t even touch me,
Depression came to finish me,
But it own self loose with me,
Problems came to paralyze me,
But it vanish from my hands,
Rejection came to win me,
But I got victory over it,
Breathing devils came to kill me,
But I caught them with my thought.

I am walking, I will never stop my walk.......

Friday, June 6, 2008

म र तँ

Host unlimited photos at slide.com for FREE!
रमेश भट्टराई

मैले गुमाए‍‍, मैले पाएं‍
तै‍ले पाइस, तै‍ले गुमाइस
मैले गुमाएर पनि पाएं‍
तै‍ले पाएर पनि गुमाइस
म‍ गुमाएर आत्तइन, त‍ पाएर मात्तइस
मेरो गुमाइको अर्थ प्राप्ती हो
तेरो प्राप्तीको अर्थ रहेन
मैले गुमाएर पाउन जानेको छु
पाएको जोगाउन पनि जानेको छु
तैले पाएर जोगाउन जान्दैनस
गुमाएर पाउन पनि जान्दैनस
त्यसैले त म खुशी छु
त्यसैले त त‍ दु:खी छस्
म लडेपछि उठ्‍न जान्दछु
त लडेपछि सुतिरहन्छस
त ब्युझ‍दा रातो घाम झुल्कनेछ
अध्यारामा हिड्‍ने त
घाम के हो ? घाममा कसरी हिड्‍ने ?
त‍लाइ के थाहा
म सत्य, त गलत
त फगत रुप,तेरो के काम ?

थिएछ

Host unlimited photos at slide.com for FREE!
शुशीला अधिकारी

थिएछ
सबैले भने थिएछ
सडकमा थिएछ
मैले पनि पुल्क्याएँ
सहनै सकिन र प्वाक्क बोले थे'छ ।
म संगैकोले आँखा तर्‍यो
अली परकोले हप्कायो,
के भनिस रे तैले ? तेरो जिब्रो थुतेर फालुँ ?
म अवाक टोलिएं
सहनै सकिन र प्वाक्क बोलें थे'छ ।
तिनिहरु म बाट दुई कदम पछाडि सरे
म रमितामा सुकरात बन्दै गुफातर्फ लम्किएं
खिया लागेको पेचमा मेरो पारी घुँएत्रियो
सहनै सकिन र प्वाक्क बोलेँ थे'छ ।
असंख्य अंकबाट, पाँच
जोड-घटाऊ, गुणन-भाग आदी-इत्यादीका
पिता पाइथागोरस घुँडा घोटेर
मेट्न लागेको ठिटा, गामा, बिटालाई
अल्फा साबुनले चम्काएको देखें
सहनै सकिन र प्वाक्क बोलेँ थे'छ ।
एक सय सत्ताइस नम्बरको
वायुपंखी घोडा माथि चढी
अग्नी दिक्षाका नायक फौजी ढाल्न
कंकड र बालुवा मुठ्याइ तनक्क तन्किँदा
कँटिमा एउटा, मात्र एउटा खुट्टो अल्झिएर
एक सय सत्ताइस पटकनै लतारिएकोले झसक्क झस्किएँ
सहनै सकिन र प्वाक्क बोलेँ थे'छ ।
गुफाबाट फुत्त निस्किएँ
टक्क माझमा अडिदै
अघिका दुइलाई कर्के नजर पल्टाइ
कान दुई हातले ठड्याउदै
सुनें, भएछ रे......
कराए, थिएछ रे.....
लम्किए, भएछ रे......
झम्टिए, गुमेछ रे.....
लात हाने, दोहोरिएछ रे....
सहनै सकिन र प्वाक्क बोलेँ थे'छ ।

Thursday, June 5, 2008

म गणतन्त्र खोजिरहेछु

Host unlimited photos at slide.com for FREE!
केदार श्रेष्ठ

म अहिले रत्नपार्कमा
गुलावका फूल हेरिरहेछु
भ्रमरको फूलमाथिको खेलाई नियालिरहेछु
काँक्रा र बदाम बेचिरहेछु

म यो व्यस्त नयाँ सडकको
गल्ली गल्लीमा भारी बोकिरहेछु
श्रमको मूल्य खोज्दै
आशाका नाम्लाले पसिना पुछिरहेछु

बसन्तपुरमा म यी सुकिलाहरुलाई
रिक्सामा सयर गराइरहेछु
आफैभित्र आफैलाई लुकाएर

कंचनपुरको यो गर्मिलाई निल्दै
म कसैको हलो बोकिरहेछु
कसैको खेत जोतिरहेछु

मेरा बाजेले कोरेको नक्सा भित्र
म सुस्ता नापीरहेछु
म आफ्नै माटो खोजिरहेछु ।

यतिखेर म महाकाली हेरिरहेछु
टनकपुर खोजिरहेछु
म कालापानी देखिरहेछु
कालापानी मलाई हेरिरहेछ
त्रिष्णाको आँशु खसाल्दै ।

कतै कसैले सुन खोजिरहेको बेला
म कर्णालीमा नुन खोजिरहेछु
शितल जुन खोजिरहेछु

आफ्नै आँखामा सपना फलाइरहेछु
त्यही सपना भोका वस्तीहरुलाई छरिरहेछु
छटपटीमा बाँचेको यो घडीमा म
त्यो एतिहासिक दिन जेठ १५ कुरिरहेछु
सामन्तवादबाट मुक्ती रोजिरहेछु
म गणतन्त्र बोलिरहेछु
अनि गणतन्त्र नेपाल पर्खिरहेछु ।

२०६५ जेठ १४ गतेको "जनादेश साप्ताहिक" मा प्रकाशित

प्रतिबन्ध

Host unlimited photos at slide.com for FREE!
कृष्ण सेन ‘इच्छुक’

हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै
तिमी भन्छौ- गाउन त गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौँ ।
हाम्रा विचारमा प्रतिबन्ध लाउँदै
हाम्रा हातहरूमा हत्कडी पहि-याउँदै
तिमी भन्छौ- लेख्न त लेख
तर यो गीत नलेख
हामी भने त्यही गीत लेखिरहन्छौँ ।
हाम्रा आस्थाहरूमा प्रतिबन्ध लाउँदै
हाम्रा खुट्टाहरूमा नेल भिराउँदै
तिमी भन्छौ- हिँड्न त हिँड
तर यो बाटो नहिँड
हामी भने त्यही बाटो हिँडिरहन्छौँ ।

ओ शासक-प्रशासकहरू !
अस्वीकार्य छ हामीलाई
तिम्रा निरङ्कुश आदेशहरू
तिमी जतिसुकै हुकुम र फरमानहरू जारी गर
तिमी जतिसुकै जुलुस र उत्पीडनहरू सुरु गर
सक्छौ भने हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊ
र, सत्यलाई कैद गर
तर, ओ तानाशाहहरू !
तिम्रा बर्बर स्वेच्छाचारका विरुद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौँ ।
उठाइरहन्छौँ हामी तिम्रा विरुद्ध सङ्र्घर्षका हातहरू
कसिरहन्छौँ हामी तिम्रा विरुद्ध विद्रोहका मुट्ठीहरू
ओ, अत्याचारका पहरेदारहरू !
अन्तिम जित हाम्रै हो
तिम्रो हारमाथि विजयको झन्डा गाड्दै
हामी भने अथक र अविचल
अन्तिम युद्ध लडिरहन्छौँ ।