केही नेपाली साहित्यकारहरु

Sunday, July 27, 2008

दुई गजल

सुन्दर शिरीष

जसले बढी पानी भर्छ उसकै भाँडो रीत्तो किन
जो बनाउँछ बाटोघाटो उही हिँड्दा भित्तो किन ?

जो भिजाउँछ पसिनाले यो धर्तीको माटो
उसकै जीवन सखाप पार्दै उसकै उछित्तो किन ?

एक पेट खान पाउने लाउनै एकै धरो
त्यसको लागि राख्नुपर्ने आफ्नै जीवन धितो किन ?

ओ निमुखा ओ गुरुवा अझै तिमीले बुझ्या छैन
जो खान्छ चुसी तिम्लाई उस्कै मनमनितो किन ?


(साहित्य सुस्केरा को तेस्रो शृङ्‍खलामा वाचित)
कलमका निप तिमीलाई संगीन हुने भए
थुइनिदेउ स्पन्दन तिम्रो हियार रुने भए

कलमका जंजिरहरु चुडाल्दा समाजमा
लुटिखाने धन्दाहरु तिम्रो सबै थुन्ने भए

पारीदिन्छौँ छिया छिया शब्दलेनै तिम्रो छाती
विकृतिका जाल अझै समाजमा बुन्ने भए

फोड्नुपर्छ गिद्दे आँखा खोस्ने हाम्रा शान्तिहरु
जानी जानी विध्वंसको कालो अझै चुन्ने भए

शिरीषको फूलहरु घोच्ने काँडो हुन्छ तिमीलाई
खप्नुपर्छ पोलाई त्यो आगूलाई छुने भए ।

(साहित्य सुस्केराको दोस्रो शृङ्‍खलामा वाचित)

को हो तपाई ?

Host unlimited photos at slide.com for FREE!
निरज बलामी
मैले ‘अ’ भन्दा
ऊ ‘अनार’ भन्दै कराउँथ्यो
मैले ‘क’ बोल्दा
ऊ ‘कलम’ भन्दै चिच्याउँथ्यो
मैले 'A' भन्दा
ऊ 'Apple' भन्दै उफ्रन्थ्यो

यात्राको एउटा मोडमा
भेट भएको छ फेरि
टाढा भइसकेका अनुहारका आँखा
जुधेका छन् फेरि

चंचल थियो ऊ
शान्त छ
बोलक्कड थियो ऊ
शिष्ट छ
म अझै मास्टर छु स्कूलको
उसको स्थान विशिष्ट छ

पढाएका दिनहरु सम्झिँदै, गुन्दै
माया गरेका क्षणहरु सम्झिँदै, रमाउँदै
गाली गरेका पलहरु सम्झिँदै, खुम्चँदै
म सोध्छु
‘बाबु के छ?’
ऊ हेर्छ पुलुक्क मेरो अनुहारमा र बोल्छ
‘माफ गर्नुहोस् महाशय,
मैले चिनिनँ,
तपाईँ को हुनुहुन्छ ?’
२०६५/०४/०३(गुरुपूर्णिमा)
(साहित्य सुस्केराको तेस्रो शृङ्‍खलामा वाचित)

साहित्य सुस्केराको तेस्रो शृङ्‍खला सम्पन्न

केदार श्रेष्ठ, काठमाडौं,११ श्रावण
विविध साहित्यिक बिधाका रचनाहरु सुन्दै-सुनाउदै हरेक नेपाली महिनाको दोस्रो शनिबार हुने 'प्रगतिशिल साहित्यमा युवा प्रयास' अभियानका साथ संचालित सुन्ने र सुनाउने साहित्य शृङ्‍खला साहित्य सुस्केराको तेस्रो शृङ्‍खला सम्पन्न भएको छ ।

नेपाल मानविकी क्याम्पस (आर.आर.) मा हुने गरेको उक्त कार्यक्रम यसपाली पनि सोही स्थानमा प्रगतिशिल साहित्यकार विश्वविमोहन श्रेष्ठ प्रति समर्पण गर्दै भाद्र महिनाको १४ गते सम्मको लागि सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा साहित्य सुस्केराको तर्फबाट साहित्यकार विश्वविमोहन श्रेष्ठका दुई कविता वाचन गर्नुको साथै सहभागी साहित्य अनुरागीद्वारा आफ्ना मौलिक रचना वाचन गरिएको थियो ।