केही नेपाली साहित्यकारहरु

Thursday, June 5, 2008

म गणतन्त्र खोजिरहेछु

Host unlimited photos at slide.com for FREE!
केदार श्रेष्ठ

म अहिले रत्नपार्कमा
गुलावका फूल हेरिरहेछु
भ्रमरको फूलमाथिको खेलाई नियालिरहेछु
काँक्रा र बदाम बेचिरहेछु

म यो व्यस्त नयाँ सडकको
गल्ली गल्लीमा भारी बोकिरहेछु
श्रमको मूल्य खोज्दै
आशाका नाम्लाले पसिना पुछिरहेछु

बसन्तपुरमा म यी सुकिलाहरुलाई
रिक्सामा सयर गराइरहेछु
आफैभित्र आफैलाई लुकाएर

कंचनपुरको यो गर्मिलाई निल्दै
म कसैको हलो बोकिरहेछु
कसैको खेत जोतिरहेछु

मेरा बाजेले कोरेको नक्सा भित्र
म सुस्ता नापीरहेछु
म आफ्नै माटो खोजिरहेछु ।

यतिखेर म महाकाली हेरिरहेछु
टनकपुर खोजिरहेछु
म कालापानी देखिरहेछु
कालापानी मलाई हेरिरहेछ
त्रिष्णाको आँशु खसाल्दै ।

कतै कसैले सुन खोजिरहेको बेला
म कर्णालीमा नुन खोजिरहेछु
शितल जुन खोजिरहेछु

आफ्नै आँखामा सपना फलाइरहेछु
त्यही सपना भोका वस्तीहरुलाई छरिरहेछु
छटपटीमा बाँचेको यो घडीमा म
त्यो एतिहासिक दिन जेठ १५ कुरिरहेछु
सामन्तवादबाट मुक्ती रोजिरहेछु
म गणतन्त्र बोलिरहेछु
अनि गणतन्त्र नेपाल पर्खिरहेछु ।

२०६५ जेठ १४ गतेको "जनादेश साप्ताहिक" मा प्रकाशित

प्रतिबन्ध

Host unlimited photos at slide.com for FREE!
कृष्ण सेन ‘इच्छुक’

हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै
तिमी भन्छौ- गाउन त गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौँ ।
हाम्रा विचारमा प्रतिबन्ध लाउँदै
हाम्रा हातहरूमा हत्कडी पहि-याउँदै
तिमी भन्छौ- लेख्न त लेख
तर यो गीत नलेख
हामी भने त्यही गीत लेखिरहन्छौँ ।
हाम्रा आस्थाहरूमा प्रतिबन्ध लाउँदै
हाम्रा खुट्टाहरूमा नेल भिराउँदै
तिमी भन्छौ- हिँड्न त हिँड
तर यो बाटो नहिँड
हामी भने त्यही बाटो हिँडिरहन्छौँ ।

ओ शासक-प्रशासकहरू !
अस्वीकार्य छ हामीलाई
तिम्रा निरङ्कुश आदेशहरू
तिमी जतिसुकै हुकुम र फरमानहरू जारी गर
तिमी जतिसुकै जुलुस र उत्पीडनहरू सुरु गर
सक्छौ भने हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊ
र, सत्यलाई कैद गर
तर, ओ तानाशाहहरू !
तिम्रा बर्बर स्वेच्छाचारका विरुद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौँ ।
उठाइरहन्छौँ हामी तिम्रा विरुद्ध सङ्र्घर्षका हातहरू
कसिरहन्छौँ हामी तिम्रा विरुद्ध विद्रोहका मुट्ठीहरू
ओ, अत्याचारका पहरेदारहरू !
अन्तिम जित हाम्रै हो
तिम्रो हारमाथि विजयको झन्डा गाड्दै
हामी भने अथक र अविचल
अन्तिम युद्ध लडिरहन्छौँ ।