केही नेपाली साहित्यकारहरु

Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Sunday, September 13, 2009

गजल

- ईश्वर थोकर

शिरीषझैं निमेषमै झर्न हुन्न मान्छे,
नझर्दा नि सम्झ ज्यूँदै मर्न हुन्न मान्छे ।

भुमरीको मृगतृष्णा अनायस खोज्दै
लुकिचोरी मरुभूमि चर्न हुन्न मान्छे ।

जिन्दगीका आशाबिम्ब सयौं लाखौं तर,
आफैंदेखि भने पर सर्न हुन्न मान्छे ।

आज यहाँ भोलि कहाँ परन्तु छ जहाँ,
अत्तालिने आँट त्यहाँ गर्न हुन्न मान्छे ।

Tuesday, September 1, 2009

गजल

- कोइराला सूर्यकिरण
गलाले दिए पो म त्यो गीत गाऊँ
उनी छिन् त्यसैमा कसोरी म पाऊँ

ति आशा गडेका परेलीहरुको 
मायाँवी शहरमा कसोरी हराऊँ ?

सुसाउँदै गरेका यि मनका हजारौं
तरेलीहरुमा कसोरी सजाऊँ ?

र, आशा छरेको छु पानाहरुमा
ल...! आऊ ! सुनाैलो छहारी लगाऊँ

ति तारा र जुनको तुलामा छ क्वैली
उ बस्ने शहरको प्रहरमा हराऊँ

Thursday, May 28, 2009

गजल

केदार श्रेष्ठ
पाउलिंदा पालुवा शिशीर गयो र खै ?!
फूल फुल्दैमा वसन्त कहाँ आयो र खै ?!

रोप्नलाई त रोपेकै थियो वीजहरु
आँकुराएपनि पात कति हाल्यो र खै ?!

वतासलाई हुरी बनाएर ल्याएकै हो
कसिङ्गरहरु कुन्लाई उडायो र खै ?!

रातलाई चिरेर सुनौलो रङ्गहरु छर्दै
घाम उदाएपनि विहान भयो र खै ?!

फाटेका मनहरु सिलाउँछौ रे नि हो ?
सिलाउन सङ्गै सियो लिइ आयो र खै ?!

Friday, May 22, 2009

गजल


Host unlimited photos at slide.com for FREE!
रामशरण प्रयास

कुहिएका फलहरु झार्न सक्नुपर्छ
नयाँ नयाँ विरुवाहरु सार्न सक्नुपर्छ

आँखाहरुले उज्यालोको खोजी गर्दै गर्दा
जोगाउन विरुवालाई बार्न सक्नुपर्छ

आतुर छन् खुट्टाहरु अघी बढ्नलाई
सबै हिंड्ने बाटोहरु खार्न सक्नुपर्छ

सबैले नै भनिराछन् नयाँको हो पालो
बांगालाई जनजालमा पार्न सक्नुपर्छ

बनाउने कुरा हैन आफ्नै दुनो सोझो
राष्ट्रघातीहरुलाई मर्न सक्नुपर्छ ।

Monday, December 29, 2008

गजल

अक्कल लामा

यो शहर फिर्दै आएँ
गाउँघर चिर्दै आएँ

सपना छ थाप्लोभरी
र त नाम्लो भिर्दै आएँ

गाँस, बास, कपासले
मात्र यहाँ पिर्दै आएँ

गावैँ थियो प्यारो तर
वाध्यताले गिर्दै आएँ

(साहित्य सुस्केराको आठौँ शृङ्‍खलामा वाचित)

Sunday, July 27, 2008

दुई गजल

सुन्दर शिरीष

जसले बढी पानी भर्छ उसकै भाँडो रीत्तो किन
जो बनाउँछ बाटोघाटो उही हिँड्दा भित्तो किन ?

जो भिजाउँछ पसिनाले यो धर्तीको माटो
उसकै जीवन सखाप पार्दै उसकै उछित्तो किन ?

एक पेट खान पाउने लाउनै एकै धरो
त्यसको लागि राख्नुपर्ने आफ्नै जीवन धितो किन ?

ओ निमुखा ओ गुरुवा अझै तिमीले बुझ्या छैन
जो खान्छ चुसी तिम्लाई उस्कै मनमनितो किन ?


(साहित्य सुस्केरा को तेस्रो शृङ्‍खलामा वाचित)
कलमका निप तिमीलाई संगीन हुने भए
थुइनिदेउ स्पन्दन तिम्रो हियार रुने भए

कलमका जंजिरहरु चुडाल्दा समाजमा
लुटिखाने धन्दाहरु तिम्रो सबै थुन्ने भए

पारीदिन्छौँ छिया छिया शब्दलेनै तिम्रो छाती
विकृतिका जाल अझै समाजमा बुन्ने भए

फोड्नुपर्छ गिद्दे आँखा खोस्ने हाम्रा शान्तिहरु
जानी जानी विध्वंसको कालो अझै चुन्ने भए

शिरीषको फूलहरु घोच्ने काँडो हुन्छ तिमीलाई
खप्नुपर्छ पोलाई त्यो आगूलाई छुने भए ।

(साहित्य सुस्केराको दोस्रो शृङ्‍खलामा वाचित)

Tuesday, July 8, 2008

गजल

Host unlimited photos at slide.com for FREE!
तेजामनु नमर्दो

भ्रष्टचारको कालो जुवा, नार्नेलाई काट् वीर
भोक भोकै जनता सारा मार्नेलाई काट् वीर

फुल्दै थियो सुवासको रङ्गीचङ्गी फूलहरु
नफक्रदै कोपिलामै झार्नेलाई काट् वीर

विजयमान बन भनी हिम्मत मैले दिएको'थे
जनकल्याण कुल्ची देश बिगारनेलाई काट् वीर

राष्ट्रियताले सुसज्जित असल नागरिक हौ भने
देशको अहम माथि उपहास आर्न्यालाई काट् वीर

रगत दिने चलन हाम्रो, पसिना बगाउने
बिदेशमा युवा शक्ती चोर्नेलाई काट् वीर

सितापुर-३, 'के'गाउँ, बाँके, नेपालगन्ज
(साहित्य सुस्केरा को दोस्रो शृङ्‍खलामा वाचित)

Sunday, June 29, 2008

गजल

Host unlimited photos at slide.com for FREE!
कोइराला सूर्यकिरण

कहाँ फुल्छे र चादनी जहा फुल्दैन जीवनी
न हर्दि छे उ रोशनी जहा झुल्दैन जीवनी

नवर्सदी उ रागले न मात्नु गर्छे प्रेमले
नडग्मगाई धीर हौ न भै खुल्दैन जीवनी

अछूत को छ प्रेममा विटूलि गर्वमा
अवोध फूल वागमा त्यही भुल्दैन जीवनी

विराज छे उ स्वर्गमा नियाल्न जाउं के गरी
न होउ मूर्ति स्वर्गकी पुजी हुँदैन जीवनी

कटाक्ष गर्नु झैँ झरी रुझाउँदै शरीरमा
उजेलिदै म काखमा फली नुदैन जीवनी
(साहित्य सुस्केराको दोस्रो शृङ्‍खलामा वाचित)

Saturday, June 14, 2008

गजल

गंगाकुमारी राई 'सुम्निमा'

रौनकको मात लाग्दा नाचेकोमा गर्व छैन
मर्नदेखि डराएर बाँचेकोमा गर्व छैन ।

चुनौतीका पाइलाहरु बढाए त भन्थें हुँला
तीखो काँडा टेकिएर भाँचेकोमा गर्व छैन ।

प्रगतिमा लागिएन, असन्तुष्टी यस्तै-यस्तै
आदर्शहिन रुखो हाँसो हाँसेकोमा गर्व छैन ।

भोलिवादी आफ्नै बानी दिक्क लाग्छ आँफैसंग
गगनचुम्वी मनहरु साचेकोमा गर्व छैन ।

सपनाका महल अझै यथार्थमा पूर्ण छैन
काल्पनिकतासंग नाता गासेकोमा गर्व छैन ।
(सहित्य सुस्केरा को प्रथम शृङ्‍खलामा वाचित )

Friday, June 13, 2008

गजल

धनश्याम न्यौपाने 'परिश्रमी "

फल्दैनौ भन्दैछौ जुन विरुवा फल्छ जरुर
तिम्रो विचारको पर्खाल एकदिन ढल्छ जरुर

प्रतिक्षा त गर्नै पर्छ प्राप्तीका लागि
ओथ्रा बसेको पोथीले चल्ला कोरल्छ जरुर

कैलेसम्म यस्तै मात्र रहला यो मौसम
आँधी हुरीका भरमा बतास चल्छ जरुर

उठ्नुपर्छ भोका पेटले कसेर कम्मर
झुप्राहरुको चुलामा आगो बल्छ जरुर

सन्देह पालेर मनमा सपना साकार हुँदैन
ताप चाहिन्छ फलाम पनि गल्छ जरुर

गजल

Host unlimited photos at slide.com for FREE!
बूंद राना

सोधिरहेछन, आज मेची र महाकाली
जागा बसेका छौ कि सुतेका छौ नेपाली ।

ओइलाई फूल सारा फूलबारी शोकमा छ,
दुस्मन कुनै पस्यो कि गद्दार भयो माली ।

एकचोटी फेरि टिष्टा सम्झौँ न काँगडा त्यो
काटेर ज्यान दिँदा लाग्दैन कि कहाली ।

घाउ हो सानोतिनो ठानेर छोडिदिए
क्यान्सर भैदिएमा सकिन्छ र सम्भाली ।

देख्दैछु आज सारा अनुहारभित्रको आगो
हो, रात ढल्ने छैन राँको ठूलै नबाली ।

गजल

Host unlimited photos at slide.com for FREE!
अच्यूत अधिकारी 'पलास'

मन आज कुन्नी किन रोए भन्यो
पिडा देखि देशले बह फोए भन्यो ।

युगदेखि मर्‍या'छन् गरीव मात्रै
एक पक्ष यस्ता रित धोए भन्यो ।

श्रम चोरि रजाइ गर्ने धनिका
अब मीलि सबै खुन दोए भन्यो ।

नबसौँ अब धेर अन्धो भई याँ
मिलि आउ मशाल उठाए भन्यो ।

पुरानो युगको खुनि पेट भित्रै
नव युगको छुरि धसाए भन्यो ।

(वहरे हजज अखरव अवतर मुसछस
पिङ्गल छन्द - तोटक )

Saturday, June 7, 2008

गजल

Host unlimited photos at slide.com for FREE!
केदार श्रेष्ठ
अझै फुट्न बाँकी छ संघर्षका मुलहरु
रोप्नुपर्छ युवा अब सिर्जनाका फूलहरु ।

सधैभरी पाइतालाका धुलासरी भयौँ
मास्नुपर्छ हामीले मै हुँ भन्ने कुलहरु ।

हाम्रा रगत चुसेर मोटाउने काम भयो
लामखुट्टेहरु छेक्न बुन्नुपर्छ झुलहरु ।

संक्रमण पार गर्दै अझै अघि बढ्ने हो कि
प्रगतिको फड्को मार्न बन्नुपर्छ पुलहरु ।

हुँडार, ब्वासालाई ठेगान लगाइ अघि बढौँ
होस गरौँ घातक हुन्छ हाम्रा आफ्नै भुलहरु ।

Friday, June 6, 2008

गजल

Host unlimited photos at slide.com for FREE!
रामशरण प्रयास

उठ्छ महान जनता फेरी आश ढलेपछि
आँखा खुल्छ जब तिन्को लास ढलेपछि ।

फेरिएर आ'छौँ भन्थे सबै झुटो रै'छ
के को परिवर्तन ल्याउँथे सास ढलेपछि ।

कुकुरका पुच्छर जस्ता सधैंभरी बाङ्गो
आस्थाको धरोहर त्यो बाँस ढलेपछि ।

जुट्दैछन रे फेरी जनता अर्को आगो बाल्न
को चुप बस्छ जब आफ्नै गाँस ढलेपछि ।