केही नेपाली साहित्यकारहरु

Showing posts with label कथा/लघुकथा. Show all posts
Showing posts with label कथा/लघुकथा. Show all posts

Thursday, January 14, 2010

आमा र ऐना

विवश वस्ती

आमाले जिन्दगीमा कहिल्यै पनि ऐना हेर्न पाउनुभएको थिएन । ऐनामा आफ्नो प्रतिविम्ब कस्तो देखिन्छ ? उहाँलाई केही पनि थाहा थिएन सायद । जिन्दगीको लामो हिस्सा उहाँले ऐना नहेरेरै बिताउनुभयो ।
ऐनाको आवश्यकता उहाँले कुवामा जमेको पानी, पोखरीको पानी वा त्यस्तैत्यस्तै जलविम्बहरुमा हेरेर पूरा गर्नुभयो ।
उहाँ आफ्नो अनुहार हेर्नुपर्यो भने तिनै स्थलहरुको चयन गर्नुहुन्थ्यो । एकदिन उहाले साच्चै नै ऐना हेर्न पाउनुभयो । त्यतिखेर उहा बुढ्यौलीका दिनहरु नाप्दै हुनुहुन्थ्यो । ऐनामा आफ्नो अनुहार हेरिसकेपछि उहाँले चाउरी परिसकेको आफ्नो गाला मुसार्दै यतिमात्रै प्रतिक्रिया दिनुभयो, म जवान छँदा यो ऐनामा हेरेकी भए कस्ती देखिन्थे हुँला ?
उहाँ भावुक बन्नुभयो । हामी पनि भावुक भयौं ।

Tuesday, June 17, 2008

नयाँ सुट

Host unlimited photos at slide.com for FREE!
कृष्ण बजगाईं
पियनले नयाँ टाई लगाएर आएपछि कार्यालयमा तुरुन्तै खासखुस सुरु भईहाल्यो- “पियनले टाई त्यो पनि नयाँ !” त्यो कुरो सेलाउन नपाउँदै खरदारले पियनको टाईसँग मिल्ने नयाँ सर्ट लगाएको देख्दा कुरो उनी तिर बढ्यो । लौ, गर्मीमा स्टोरकिपरलाई नयाँ कोटमा देख्दा बाँकी कर्मचारीहरु आश्चर्यचकित भए । झन् कोटसँग ठ्याक्कै मिल्ने कपडाको पेण्टमा लेखापाललाई देख्दा कुराले अर्कै मोड लियो ।
यो कुरो अब कर्मचारीहरुमा मात्र सिमित रहेन । चचाचुमा (चम्चागिरी चाकडी र चुक्ली) चालू एक कर्मचारीले पियनको टाईदेखि लेखापालको नयाँ पेण्टसम्मको कुरा फुलबुट्टा भरेर हाकिमलाई बेलीबिस्तार लगाए । यस्तो कुरा थाहा पाउदा हाकिमलाई उठ्नसम्मको रिस उठ्यो । हाकिमले ती कर्मचारीहरुलाई एकैपटक आफ्नो कार्यकक्षमा बोलाए ।
लहरै लाम लागेर उभिएका ती कर्मचारीहरुको पहिरनमा हाकिमले एक नजर लगाए । आफ्नो नापको कपडा ती कर्मचारीहरुलाई कति पनि नसुहाए जस्तो लाग्यो हाकिमलाई । आफ्नो छवि यसरी ती कर्मचारीहरुमा सर्लक्क बाँडिएको देखेर उनी छक्क परे । आफूलाई आउने उपहार कोशेली तथा नगद बाँडिदै आउँदा यति धेरै चुहावट हुँदो रहेछ भन्ने कुरा थाहा पाउँदा हाकिम बडो दुःखी भए ।
सभार : कथाकुथुङ्ग्री (यो लघुकथा यन्त्रवत लघुकथा संग्रहमा संग्रहित छ ।)

Friday, June 13, 2008

बोकाको भोज

Host unlimited photos at slide.com for FREE!
केदार श्रेष्ठ

यो त्यो गाउँको कथा हो जुन गाउँ पुरानै रीतिरिवाज र आर्दशबीच जेलिएको छ । त्यस गाउँको एउटा मध्यम खालको घरमा अलि बढी नै मानिसहरुको चहलपहल छ । त्यस घरका परिवारका सदस्यहरु अरु दिनमा भन्दा बढी नै चल्दाफुर्दा देखिन्छन् । उनीहरुले घरमा आएका मानिसहरुलाई सत्कार गर्न पनि भ्याएका छन् खित्का छोड्दै कुराकानी गर्न पनि भ्याएका छन् । जेहोस् आज घरका मानिसहरुको अनुहार सदाभन्दा हँसिलो भएको प्रष्ट देखिन्छ । घरको छेवैमा भएको बाख्राको टाँडबाट अघिदेखि नै एउटा बोकाले यी कि्रयाकलाप ध्यानपूर्वक हेरिरहेको थियो । उसमा यति धेरै मान्छेहरु किन जम्मा भा'को होलान् ? भन्ने कुराको खुल्दुली भइरहेको थियो । अनि त्यो बोका घोरिएर मनमनै बोल्न थाल्यो- 'पक्कै पनि आज यहाँ कुनै खुशीको भोज हुनलागेको हुनुपर्छ नत्र यति धेरै मान्छेहरु विनासित्ति के गर्न आउँथे उही भोजै भएर त होला नि ।'
त्यस घरको जेठो छोराको सन्तानप्राप्तिको खुशीयालीमा न्वारनको भोज हुन लागेको रहेछ । त्यसैले उनीहरुले आफ्ना इष्टमित्रहरुलाई निमन्त्रणा गरेका रहेछन् । भोजकै चहलपहल हो भन्ने यकिन भएपछि टाँडबाट अघिदेखि नै ध्यान दिइरहेको बोकामा एउटा गजबको इष्र्या जाग्न थाल्यो । 'आ ! कति घाँसमात्र खानु कहिलेकाहीँ यी मान्छेले खाने गरेका खाना खान पाएपनि त हुने नि । बरु तिनीहरुले छाडेको रहलपहल भए पनि मज्जै हुन्थ्यो ।'
यस्ता कुराले बोकाको मनमा बास लिएपछि पक्कै पनि रहलपहल भएपनि पाइएलाजस्तो छ भन्ने सोचेर त्यसलाई नाचूँ-नाचूँ लाग्यो उफ्रू-उफ्रू लाग्यो खुशीले के गरुँ कसो गरुँ भयो । हुन त त्यस बोकाले भोजको कुरा टाँडमा भएका अरु बाख्राहरुलाई पनि सुनाउन नखोजेको होइन तर आफ्नो भाग घट्ने पो हो कि भन्ने डरले अरुलाई अत्तोपत्तो दिएन । फेरि अरु बाख्राहरुलाई यस्ता कुरामा खासै वास्ता पनि थिएन ।
यत्तिकैमा दुईजना मानिस टाँडतिर आउँदै थिए । एउटा चाहिँले 'भरिएको डिक्ची' बोकेको थियो । यो देखेर 'पक्कै पनि मेरो लागि केही ल्याएको हुनुपर्छ । साँच्ची यिनीहरुले मलाई कति माया गर्छन् ।'भन्ने सोचेर बोकामा हर्षको सीमा रहेन । त्यसपछि एउटा मान्छेले चाहिँ टाँडबाट दाम्लो फुकाएर बोकालाई आँगनतिर लग्यो र एउटा किलामा बाँध्यो । यतिखेरसम्म बोकामा भोजको कल्पनाले छोडको थिएन । तर त्यो धैरैबेर सम्म रहन सकेन । जब आँगनको किलामा बाँधिएको त्यस बोकाको गर्धनतिर धारिलो हतियार जोडतोडले खस्न लाग्यो यसले उसको आँखामा परेको एक किसिमको चमकले पलक झट्ट बन्द हुन पुग्यो तब त्यस बोका छाँगाबाट खसेजस्तै भयो । अनि त्यसको आँखा छेवैमा भरिएको डिक्चीमा अगेनामाथि उम्लिरहेको पानीमा पर्यो । त्यतिखेर त्यो निरिह भएर आफ्नो गर्धन हतियारलाई समर्पण गर्नु सिवाय अरु केही गर्न सकेन ।
'नवयुवा' मासिक पूर्णांक १०६ मा प्रकाशित

Tuesday, June 10, 2008

असफल

Host unlimited photos at slide.com for FREE!
केदार श्रेष्ठ
साहित्यतिर झुकाव राख्न थालेदेखी लक्ष्मीमा नयाँ जोश र जाँगरको संचार भएको थियो । उनी बरोबार साहित्यका विभिन्न विधामा कलम चलाऊने गर्थी र त्यसको प्रकाशनको प्रयासमा पनि जुट्थी । सायद उसलाई साहित्यमा सफल हुने प्रवल इच्छाले गर्दा होला, उसले साहित्यिक रचनाहरुमा आफ्नो थर लोप गराइ लक्ष्मी 'असफल' भनी लेख्न थाली । उसले विभिन्न लेखकहरु संग सम्वन्धको विस्तार गर्न थाली, सायद यो पनि 'असफल' लाई 'सफल' मा ढाल्ने राम्रो काइदा हुन सक्छ ।
यसै क्रममा संयोगवश भनौँ या कुनै कारणले उसको एकजना लेखकसँग चिनापर्ची भयो । साहित्य-आकाशमा नाम स्थापित गरिसकेका उक्त लेखकको विभिन्न पत्रपत्रीकाहरुसम्म पहुँच रहेछ । लक्ष्मीले पनि यो कुरा बुझेर मौकामा चौका हन्ने दाउले भनिहाली-"मैले पनि हालसालै एउटा कविता लेखेकी छु, सुनाउँ कि ?" लेखकज्यूको अनुमतिपश्चात उसले खुब स्फुर्त शैलीमा कविता सुनाइ । लेखकले पनि कविताको तारिफ गर्‍यो र उसको हातबाट कविताको कागज लिँदै भन्यो-"लक्ष्मी 'असफल' जी कविता राम्रो छ, म यसलाई छाप्ने प्रयत्न गरुँला ।" लक्ष्मीले खोजेकी पनि यस्तै, कुनै नाइनास्तीको कुरै भएन ।
केही हप्तापछी एउटा साहित्यिक पत्रीका उसको हातमा पर्‍यो । यस्ता पत्रीका भनेपछी 'बाँदरले केरा छोड्ला' तर उसले छोड्ने थिइन । कुनै कसर नराखी पढ्ने गर्थी । उसले क्रमश: एकपछी अर्को गर्दै त्यहाँभित्रका रचनाहरु पढ्दै गई । एउटा रचनामा गएर भने एकैछिन अडीइ र हर्षका साथ त्यो रचना चम्किला आँखा लिएर पढ्न थाली । ए ! त्यो त उसकै कविता पो रहेछ । जुन लेखकज्यूले "छाप्ने प्रयत्न गरुँला" भनी थपक्क गोजिमा राखेको थियो । तर त्यस रचनाको लेखकको नाम देखेपछी उ झसङ्ग भईन । त्यहाँ त लक्ष्मीको नाम कहिँ कतै उल्लेख थिएन । विश्वास लागेन त्यस्ता प्रतिष्ठित व्यक्तिले यस्तो घटिया काम कसरी गर्न सक्छ ? उसले फेरी आफ्नो नाम खोज्न थाली, यता हेरी, उता हेरी, तल हेरी, माथि हेरी तर अहँ कतै थिएन त्यहाँ त उही लेखकको नाम उसलाई गिज्ज्याएजस्तै गरी मुसुमुसु हाँसिरहेको थियो । 'सफल' अभिलाषा पालेर 'असफल' नाम राखेकी लक्ष्मीले आफ्नै हातले, आफ्नै कलमले आफ्नै विचारले लेखेकी त्यो आफ्नै मौलिक कवितामा आफ्नै नाम भेट्टाउन 'असफल' भाईन् ।
शव्द-संयोजन मासिकको पूर्णांक ३२ मा प्रकाशित (२०६३ पुष)