केही नेपाली साहित्यकारहरु

Friday, June 13, 2008

सडक

Host unlimited photos at slide.com for FREE!
अच्यूत अधिकारी 'पलास'

बढ्दो चापमा
चाप्दो रापसंगै
सडक अनवरत जल्दै
ढुङ्गा, गिट्टी र वालुवाहरु बाल्दै
अलकत्रा पगाल्न
सडक राँको बोकेर
गोधुली संगै कुदिरहेछ
आला रगतका टाटाहरु
पहिलो
दोस्रो
तेस्रो
क्रमश: अनगिन्ती खातहरुमा
खात थप्दै सडक उचाइ थपिरहेछ
छरपस्ट लासहरु
एक
दुई
तीन
हजारै हजारका
असरल्ल छरिएका चप्पलहरु
छरपस्ट आंशिक अंग बोकेर
बाघ स्वरमा
चिच्याउने सडक
पहाड फोर्दै
कोशी नाघ्दै
जलजला भेट्न
लम्किरहेको तातो सडक
सगरमाथा गाबेर
कर्णाली बगाउदै
रातो गोल बोकेर
ताराको लाममा
आजपनि
सडक कुदिनैरहेछ
सडक दौडिनैरहेछ
झण्डा हल्लिदैं
मुट्ठी उठिरहेको बेला
धर्ती डगमगाउदै
भेल सुसाउँदा
डुम............
डुम.......
डुम..
एक..
दुई.......
तीन.............
इतिहास बोकेर
आजपनि
सडक बँचिरहेछ ।

बोकाको भोज

Host unlimited photos at slide.com for FREE!
केदार श्रेष्ठ

यो त्यो गाउँको कथा हो जुन गाउँ पुरानै रीतिरिवाज र आर्दशबीच जेलिएको छ । त्यस गाउँको एउटा मध्यम खालको घरमा अलि बढी नै मानिसहरुको चहलपहल छ । त्यस घरका परिवारका सदस्यहरु अरु दिनमा भन्दा बढी नै चल्दाफुर्दा देखिन्छन् । उनीहरुले घरमा आएका मानिसहरुलाई सत्कार गर्न पनि भ्याएका छन् खित्का छोड्दै कुराकानी गर्न पनि भ्याएका छन् । जेहोस् आज घरका मानिसहरुको अनुहार सदाभन्दा हँसिलो भएको प्रष्ट देखिन्छ । घरको छेवैमा भएको बाख्राको टाँडबाट अघिदेखि नै एउटा बोकाले यी कि्रयाकलाप ध्यानपूर्वक हेरिरहेको थियो । उसमा यति धेरै मान्छेहरु किन जम्मा भा'को होलान् ? भन्ने कुराको खुल्दुली भइरहेको थियो । अनि त्यो बोका घोरिएर मनमनै बोल्न थाल्यो- 'पक्कै पनि आज यहाँ कुनै खुशीको भोज हुनलागेको हुनुपर्छ नत्र यति धेरै मान्छेहरु विनासित्ति के गर्न आउँथे उही भोजै भएर त होला नि ।'
त्यस घरको जेठो छोराको सन्तानप्राप्तिको खुशीयालीमा न्वारनको भोज हुन लागेको रहेछ । त्यसैले उनीहरुले आफ्ना इष्टमित्रहरुलाई निमन्त्रणा गरेका रहेछन् । भोजकै चहलपहल हो भन्ने यकिन भएपछि टाँडबाट अघिदेखि नै ध्यान दिइरहेको बोकामा एउटा गजबको इष्र्या जाग्न थाल्यो । 'आ ! कति घाँसमात्र खानु कहिलेकाहीँ यी मान्छेले खाने गरेका खाना खान पाएपनि त हुने नि । बरु तिनीहरुले छाडेको रहलपहल भए पनि मज्जै हुन्थ्यो ।'
यस्ता कुराले बोकाको मनमा बास लिएपछि पक्कै पनि रहलपहल भएपनि पाइएलाजस्तो छ भन्ने सोचेर त्यसलाई नाचूँ-नाचूँ लाग्यो उफ्रू-उफ्रू लाग्यो खुशीले के गरुँ कसो गरुँ भयो । हुन त त्यस बोकाले भोजको कुरा टाँडमा भएका अरु बाख्राहरुलाई पनि सुनाउन नखोजेको होइन तर आफ्नो भाग घट्ने पो हो कि भन्ने डरले अरुलाई अत्तोपत्तो दिएन । फेरि अरु बाख्राहरुलाई यस्ता कुरामा खासै वास्ता पनि थिएन ।
यत्तिकैमा दुईजना मानिस टाँडतिर आउँदै थिए । एउटा चाहिँले 'भरिएको डिक्ची' बोकेको थियो । यो देखेर 'पक्कै पनि मेरो लागि केही ल्याएको हुनुपर्छ । साँच्ची यिनीहरुले मलाई कति माया गर्छन् ।'भन्ने सोचेर बोकामा हर्षको सीमा रहेन । त्यसपछि एउटा मान्छेले चाहिँ टाँडबाट दाम्लो फुकाएर बोकालाई आँगनतिर लग्यो र एउटा किलामा बाँध्यो । यतिखेरसम्म बोकामा भोजको कल्पनाले छोडको थिएन । तर त्यो धैरैबेर सम्म रहन सकेन । जब आँगनको किलामा बाँधिएको त्यस बोकाको गर्धनतिर धारिलो हतियार जोडतोडले खस्न लाग्यो यसले उसको आँखामा परेको एक किसिमको चमकले पलक झट्ट बन्द हुन पुग्यो तब त्यस बोका छाँगाबाट खसेजस्तै भयो । अनि त्यसको आँखा छेवैमा भरिएको डिक्चीमा अगेनामाथि उम्लिरहेको पानीमा पर्यो । त्यतिखेर त्यो निरिह भएर आफ्नो गर्धन हतियारलाई समर्पण गर्नु सिवाय अरु केही गर्न सकेन ।
'नवयुवा' मासिक पूर्णांक १०६ मा प्रकाशित

मेरो सानो मुरलीमा

Host unlimited photos at slide.com for FREE!
मन्जुल

मेरो सानो मुरलीमा मेरो देश नअटला
तर मेरो मुरलीले भाखा राखुँ भन्छ
मेरो सानो मुटुभित्र मेरो देश नअटला
तर मेरो दश औँलीले देशै ढाकुँ भन्छ ।

सुनाखरी फुलुँ भन्छ, सुनगाभा फुलुँ भन्छ
गुराँसको जोवन मेरो, लालुपाते हासुँ भन्छ
वेणी र त्रिवेणी देशसंग मिलुँ भन्छ ।
बादलुले उडुँ भन्छ, पखेरामा गुडुँ भन्छ
आकासले अडुँ भन्दा, पर्वतले बढुँ भन्छ
डाँफे चरी माथि माथि हिमालमा चढुँ भन्छ ।

शब्दकोष

विमल निभा

हिजोआज शब्दहरुले
एउटै अर्थ दिन थालेका छन्

उदाहरणको लागि
तपाईँ संसदलाई संसद् भन्नोस्
अथवा सुपर मार्केट
आन्दोलनलाई आन्दोलन भन्नोस्
अथवा धोकामनीषीलाई मनीषि भन्नोस्
अथवा गड्यौँला
संविधानलाई संविधान भन्नोस्
अथवा चुटकिला
साहुकारलाई साहुकार भन्नोस्
अथवा रक्तजीवी
विचारलाई विचार भन्नोस्
अथवा र्वीयपात
नायकलाई नायक भन्नोस्
अथवा भारदार
न्यायलाई न्याय भन्नोस्
अथवा गाली
भद्रजनलाई भद्रजन भन्नोस्
अथवा दलाल
झण्डालाई झण्डा भन्नोस्
अथवा मखुण्डो
सिंहदरबारलाई सिंहदरबार भन्नोस्
अथवा जुवाघर
व्यवस्थालाई व्यवस्था भननोस्
अथवा जङ्गल
रक्षकलाई रक्षक भन्नोस्
अथवा अपराधी
राजनीतिलाई राजनीति भन्नोस्
अथवा ठेकेदारी
देशलाई देश भन्नोस्
अथवा वधस्थल
कुनै फरक पर्नेछैन
चलाखी, महल, सिद्धान्त
जननायक, साइकल, लामखुट्टे
बहुमत, घुस, घाँस
ढुङ्गा, कर्फ्यू, फूल
पहलमान, वंशावली, रात
बारुद, लाइसेन्स, जय नेपाल
समीकरण, गमला, गीत
मन, कमरेड, दमकल
पासपोर्ट, मानिस, हिमाल
पार्टि, श्रीपेच, खेल
दलबदल, आलोचना, पैसा
अभियान, बल, समाजवाद
अमेरिका, भकारी, अविश्वास
इतिहास, कूटनीति, दलदल आदिमा
अब कुनै भेद छैन

म निरन्तर पाना पल्टाएर हेरिरहेछु
लोकतन्त्रको शब्दकोशमा
शब्दहरुले अर्थ हराएकाछन्

गजल

धनश्याम न्यौपाने 'परिश्रमी "

फल्दैनौ भन्दैछौ जुन विरुवा फल्छ जरुर
तिम्रो विचारको पर्खाल एकदिन ढल्छ जरुर

प्रतिक्षा त गर्नै पर्छ प्राप्तीका लागि
ओथ्रा बसेको पोथीले चल्ला कोरल्छ जरुर

कैलेसम्म यस्तै मात्र रहला यो मौसम
आँधी हुरीका भरमा बतास चल्छ जरुर

उठ्नुपर्छ भोका पेटले कसेर कम्मर
झुप्राहरुको चुलामा आगो बल्छ जरुर

सन्देह पालेर मनमा सपना साकार हुँदैन
ताप चाहिन्छ फलाम पनि गल्छ जरुर

गजल

Host unlimited photos at slide.com for FREE!
बूंद राना

सोधिरहेछन, आज मेची र महाकाली
जागा बसेका छौ कि सुतेका छौ नेपाली ।

ओइलाई फूल सारा फूलबारी शोकमा छ,
दुस्मन कुनै पस्यो कि गद्दार भयो माली ।

एकचोटी फेरि टिष्टा सम्झौँ न काँगडा त्यो
काटेर ज्यान दिँदा लाग्दैन कि कहाली ।

घाउ हो सानोतिनो ठानेर छोडिदिए
क्यान्सर भैदिएमा सकिन्छ र सम्भाली ।

देख्दैछु आज सारा अनुहारभित्रको आगो
हो, रात ढल्ने छैन राँको ठूलै नबाली ।

गजल

Host unlimited photos at slide.com for FREE!
अच्यूत अधिकारी 'पलास'

मन आज कुन्नी किन रोए भन्यो
पिडा देखि देशले बह फोए भन्यो ।

युगदेखि मर्‍या'छन् गरीव मात्रै
एक पक्ष यस्ता रित धोए भन्यो ।

श्रम चोरि रजाइ गर्ने धनिका
अब मीलि सबै खुन दोए भन्यो ।

नबसौँ अब धेर अन्धो भई याँ
मिलि आउ मशाल उठाए भन्यो ।

पुरानो युगको खुनि पेट भित्रै
नव युगको छुरि धसाए भन्यो ।

(वहरे हजज अखरव अवतर मुसछस
पिङ्गल छन्द - तोटक )

"साहित्य सुस्केरा" को प्रथम शृङ्‍खला सम्पन्न

ही जेठ २९ गते बुधवार, निर्धारित "सहित्य सुस्केरा" को प्रथम शृङ्‍खला सम्पन्न भएको छ । थोरै भएपनि उत्साहजनक उपस्थितिमा अनौपचारिक रुपमा भएको उक्त शृङ्‍खलामा भर्खरै साहित्य यात्रामा पाइला चाल्दै गरेका देखी स्थापित साहित्यकारसम्मका विभिन्न विधाका १३ वटा मौलिक रचना वाचन गरिएको थियो ।
साथै दोस्रो शृङ्‍खलादेखी "सहित्य सुस्केरा" हरेक नेपाली महिनाको दोस्रो शनिबार दिनको ठीक २:०० बजे, नेपाल मानविकी क्याम्पस (आर.आर) मा हुने जानकारी गराउदै, असार १४ गते हुने "साहित्य सुस्केरा" को दोस्रो शृङ्‍खलाको निम्ती यहाँहरु सबैलाई निम्तो गर्दछौँ ।
साहित्य सुस्केरा परिवार