केही नेपाली साहित्यकारहरु

Tuesday, July 8, 2008

गजल

Host unlimited photos at slide.com for FREE!
तेजामनु नमर्दो

भ्रष्टचारको कालो जुवा, नार्नेलाई काट् वीर
भोक भोकै जनता सारा मार्नेलाई काट् वीर

फुल्दै थियो सुवासको रङ्गीचङ्गी फूलहरु
नफक्रदै कोपिलामै झार्नेलाई काट् वीर

विजयमान बन भनी हिम्मत मैले दिएको'थे
जनकल्याण कुल्ची देश बिगारनेलाई काट् वीर

राष्ट्रियताले सुसज्जित असल नागरिक हौ भने
देशको अहम माथि उपहास आर्न्यालाई काट् वीर

रगत दिने चलन हाम्रो, पसिना बगाउने
बिदेशमा युवा शक्ती चोर्नेलाई काट् वीर

सितापुर-३, 'के'गाउँ, बाँके, नेपालगन्ज
(साहित्य सुस्केरा को दोस्रो शृङ्‍खलामा वाचित)

हाम्रो जनकवि दुर्गालाल

Host unlimited photos at slide.com for FREE!
रचना : राजभाइ जक:मि
संगीत : न्ह्यू बज्राचार्य


राष्ट्रिय-गौरव हृदय-कुसुम हो
हाम्रो जनकवि दुर्गालाल
उसको अनुपम काव्य-गर्भमा
हाँसिरहेछ नयाँ नेपाल ।

निशदिन कविता गुनुगुनु गर्दै
अन्तर्पीडा पोख्दछ उ
देश-हृदयको झललल तस्विर
कविताले नै कोर्दछ उ
बाँचिरहोस् उ सार्थक जीवन
गाऔँ हामी मंगलगान
नेपालीको धर्तीपुत्र
युगवाणीको सिन्धु-विशाल
उसको अनुपम काव्य-गर्भमा
हाँसिरहेछ नयाँ नेपाल ।

काव्य-गगनमा सूर्य भएर
चम्किरहेको ज्वाला त्यो
तीक्ष्ण-कलमको तलवार भिरी
लम्किरहेको योद्धा त्यो
चम्किरहोस् उ भूमण्डलमा
अर्पण गर्छौँ अभिनन्दन
हाम्रो राष्ट्रिय कविता-रत्न
इन्कलावको उच्छ हिमाल
उसको अनुपम काव्य-गर्भमा
हाँसिरहेछ नयाँ नेपाल ।
(साहित्य सुस्केराको दोस्रो शृङ्‍खलामा वाचित)

Tuesday, July 1, 2008

धर्ती सिंगार्न चाहन्छन्



सन्तोषी श्रेष्ठ

भर्खरै कोपिलाको ढोका खोलेर
संसार चिहाउँदै मुस्कुराइरहेका फूलहरु
धर्तीभरी आफ्ना वासना छर्ने तरखर गरिरहेछन्
नयाँ नयाँ पालुवाहरु, चौतारी र आँगनहरुमा
शीतल बतास बाहाउने प्रयत्न गरिरहेछन् ।

बहेली खेल्दै धानले
भकारीका सपनाहरु फुराइरहेछन्
निरन्तर नदीहरु धर्तीलाई जीवन भर्दै
निस्वार्थ अभिलाषामा पौदिरहेछन् ।

टुकीहरु आफै बल्दै उज्यालो छरिरहेछन्
छानाहरु आफू रुझ्दै ओतिरहेछन्
बाटाहरु हिँड्न पाइलाहरु
शब्दहरु बोल्न ओठहरु
सबै आफ्ना कर्म गर्न खोजिरहेछन् ।

तर यहाँ
सपनाहरु लुटिन्छन
र त फूलहरु भाँचिन्छन
आशाहरु टुक्राइन्छन्
र त बाटाहरु भात्काइन्छन् ।
अझै पनि
फूलहरु, पालुवाहरु, नदीहरु
छानाहरु, बाटाहरु र ओठहरु
धर्ती सिंगार्न चाहन्छन्
संसार बदल्न चाहन्छन् ।
कक्षा ९
गीतामाता उच्च मा.वि.
(साहित्य सुस्केराको दोस्रो शृङ्‍खलामा वाचित)

Sunday, June 29, 2008

नयाँ घर बनाऔँ

Host unlimited photos at slide.com for FREE!
केदार श्रेष्ठ

थोत्रो भयो हाम्रो घर, मलाई सारै भयो डर
यसलाई भत्काएर लौ बनाऔँ नयाँ घर !

म पर्खाल उठाउँछु, साथी तिमी ढुङ्गा ल्याउ
झ्याल-ढोका ठीक्क ठाउँमा राखी नयाँ घर बनाऔँ !

आफ्नै काठ, आफ्नै माटो, आफ्नै ढुङ्गा राम्रो होला
पौरख आफ्नै लगाएमा घर साँच्चै हाम्रो होला !

अर्काको मुख ताक्न छाडी हामी मिली जग बसालौँ
ब्वाँसालाई छेको हाली सुन्दर जब्बर घर बनाऔँ !

गरेदेखी नहुने रैनछ मोती फल्छ पाखामा
हाम्रो नयाँ घरको गीत गाऔँ एउटै भाकामा !

(बालकोसेली मासिकको पूर्णांक ४७ मा प्रकाशित)

गजल

Host unlimited photos at slide.com for FREE!
कोइराला सूर्यकिरण

कहाँ फुल्छे र चादनी जहा फुल्दैन जीवनी
न हर्दि छे उ रोशनी जहा झुल्दैन जीवनी

नवर्सदी उ रागले न मात्नु गर्छे प्रेमले
नडग्मगाई धीर हौ न भै खुल्दैन जीवनी

अछूत को छ प्रेममा विटूलि गर्वमा
अवोध फूल वागमा त्यही भुल्दैन जीवनी

विराज छे उ स्वर्गमा नियाल्न जाउं के गरी
न होउ मूर्ति स्वर्गकी पुजी हुँदैन जीवनी

कटाक्ष गर्नु झैँ झरी रुझाउँदै शरीरमा
उजेलिदै म काखमा फली नुदैन जीवनी
(साहित्य सुस्केराको दोस्रो शृङ्‍खलामा वाचित)

वलिदानी वेग

Host unlimited photos at slide.com for FREE!
जनकवि दुर्गालाल श्रेष्ठ

फूल्न त हो है ढक्क फुलेकै
अज बगरमा फूल
तर कसरी म भनूँ कि यही हो
परिवर्तन आमूल

अज तिमीलाई जनताले
जब पहिरायो जीत
अहह ! तिमीले पनि उल्टै पो
गाउन थाल्यौ गीत -

'ब्वाँसोले पनि पाओस बाँच्न
जन्तु हुँदै हो खास
उसले पनि हाम्रो गोठैमा
पाओस् सजिलै बास'

सत्ता - यो नेपाली सत्ता
के हो यसको जात ?
जो आएपनि पाएकै छ
जनताले आघात !

भत्काई नारांहिटिलाई
पारे पनि पातल,
राजतन्त्र मेटिन्न यहाँ है
हुन्न नयाँ नेपाल !

हैन हैन नारांहिटि हैन
राजतन्त्रको बास
त्यसको प्राण त नेताकै हो
राजा बन्ने प्यास !

तर वलिदानी वेग समयको
अब रुक्ने छैन,
बाटो छेक्ने कोही नेता
अब बच्ने छैन !
-प्रथम पटक प्रकाशित
(साहित्य सुस्केराको दोस्रो शृङ्‍खलामा वाचित)

Saturday, June 28, 2008

साहित्य सुस्केराको दोस्रो शृङ्‍खला सम्पन्न

काठमाडौं, १४ असार;
त्साहजनक उपस्थितीका साथ विविध विधाका साहित्यिक रचनाहरु सुन्दै-सुनाउदै हरेक नेपाली महिनाको दोस्रो शनिबार हुने साहित्य सुस्केरा को दोस्रो शृङ्‍खला सम्पन्न भएको छ । उक्त शृङ्‍खलामा नेपाली साहित्यका २१ र अङ्ग्रेजी साहित्यका एक गरी २२ रचनाहरु वाचित भएका छन् भने शृङ्‍खलावद्ध सुनाउने गरी 'माली गाई र गोरु' कथाको स्रस्ट्राबाट नै वाचन सुरु गरिएको छ ।

स्थापित देखी भर्खर साहित्यमा पाइला चालेकाहरु तथा अन्य साहित्य अनुरागीहरुको राम्रो जमघटका साथ सन्चालित उक्त कार्यक्रममा अखिल नेपाल लेखक संघका केन्द्रिय सदस्य तथा साहित्यकार राजभाइ ज:कमीले आफ्ना रचना तथा साहित्य सुस्केरा को लागि जनकवि दुर्गालाल श्रेष्ठले उहाँमार्फत प्रेशित गर्नुभएको कविता वाचन गर्नुका साथै प्रगतिशील साहित्यबारे बोल्नुभयो । शृङ्‍खलामा मौलिक रचना बाहेक अन्य स्रस्ट्राका रचना पनि ससम्मान वाचन गरियो । कार्यक्रममा साहित्यकार जोतारे धाइवा, स्पन्दन-प्रगतिशील साहित्य समाज लगायतको साहित्यिक प्रस्तुतिसहित उपस्थिती थियो ।

सुस्केरा समुहका शुशीला अधिकारीको स्वागत उदघोषण सङ्गै समुहकै केदार श्रेष्ठद्वारा सन्चालन गरिएको कार्यक्रम श्रावण महिनाको दोस्रो शनिबार(११ गते)सम्मको लागि समापन गरिएको छ ।

Wednesday, June 18, 2008

" प्रगतिशील साहित्यमा युवा प्रयास "

साहित्य सुस्केरा

(सुन्ने-सुनाउने साहित्यिक शृङ्‍खला)

"प्रगतिशील साहित्यमा युवा प्रयास" अभियानका साथ हरेक नेपाली महिनाको दोस्रो शनिबार हुने "साहित्य सुस्केरा" (सुन्ने-सुनाउने साहित्यिक शृङ्‍खला) को दोस्रो शृङ्‍खला निम्न मिती र स्थानमा हुने हुनाले आफ्नो मौलिक लेख-रचनाका साथ सहभागी हुन हार्दिक आमन्त्रण गर्दछौं ।


मिती : २०६५ असार १४ गते (दोस्रो शनिबार)
समय : दिनको ठीक २:00 बजे (तोकिएकै समयमा हुने)
स्थान : नेपाल मानविकी क्याम्पस (आर.आर.)
कोठा नं १४

साहित्य सुस्केरा परिवार

Tuesday, June 17, 2008

नयाँ सुट

Host unlimited photos at slide.com for FREE!
कृष्ण बजगाईं
पियनले नयाँ टाई लगाएर आएपछि कार्यालयमा तुरुन्तै खासखुस सुरु भईहाल्यो- “पियनले टाई त्यो पनि नयाँ !” त्यो कुरो सेलाउन नपाउँदै खरदारले पियनको टाईसँग मिल्ने नयाँ सर्ट लगाएको देख्दा कुरो उनी तिर बढ्यो । लौ, गर्मीमा स्टोरकिपरलाई नयाँ कोटमा देख्दा बाँकी कर्मचारीहरु आश्चर्यचकित भए । झन् कोटसँग ठ्याक्कै मिल्ने कपडाको पेण्टमा लेखापाललाई देख्दा कुराले अर्कै मोड लियो ।
यो कुरो अब कर्मचारीहरुमा मात्र सिमित रहेन । चचाचुमा (चम्चागिरी चाकडी र चुक्ली) चालू एक कर्मचारीले पियनको टाईदेखि लेखापालको नयाँ पेण्टसम्मको कुरा फुलबुट्टा भरेर हाकिमलाई बेलीबिस्तार लगाए । यस्तो कुरा थाहा पाउदा हाकिमलाई उठ्नसम्मको रिस उठ्यो । हाकिमले ती कर्मचारीहरुलाई एकैपटक आफ्नो कार्यकक्षमा बोलाए ।
लहरै लाम लागेर उभिएका ती कर्मचारीहरुको पहिरनमा हाकिमले एक नजर लगाए । आफ्नो नापको कपडा ती कर्मचारीहरुलाई कति पनि नसुहाए जस्तो लाग्यो हाकिमलाई । आफ्नो छवि यसरी ती कर्मचारीहरुमा सर्लक्क बाँडिएको देखेर उनी छक्क परे । आफूलाई आउने उपहार कोशेली तथा नगद बाँडिदै आउँदा यति धेरै चुहावट हुँदो रहेछ भन्ने कुरा थाहा पाउँदा हाकिम बडो दुःखी भए ।
सभार : कथाकुथुङ्ग्री (यो लघुकथा यन्त्रवत लघुकथा संग्रहमा संग्रहित छ ।)

Saturday, June 14, 2008

गजल

गंगाकुमारी राई 'सुम्निमा'

रौनकको मात लाग्दा नाचेकोमा गर्व छैन
मर्नदेखि डराएर बाँचेकोमा गर्व छैन ।

चुनौतीका पाइलाहरु बढाए त भन्थें हुँला
तीखो काँडा टेकिएर भाँचेकोमा गर्व छैन ।

प्रगतिमा लागिएन, असन्तुष्टी यस्तै-यस्तै
आदर्शहिन रुखो हाँसो हाँसेकोमा गर्व छैन ।

भोलिवादी आफ्नै बानी दिक्क लाग्छ आँफैसंग
गगनचुम्वी मनहरु साचेकोमा गर्व छैन ।

सपनाका महल अझै यथार्थमा पूर्ण छैन
काल्पनिकतासंग नाता गासेकोमा गर्व छैन ।
(सहित्य सुस्केरा को प्रथम शृङ्‍खलामा वाचित )

Friday, June 13, 2008

सडक

Host unlimited photos at slide.com for FREE!
अच्यूत अधिकारी 'पलास'

बढ्दो चापमा
चाप्दो रापसंगै
सडक अनवरत जल्दै
ढुङ्गा, गिट्टी र वालुवाहरु बाल्दै
अलकत्रा पगाल्न
सडक राँको बोकेर
गोधुली संगै कुदिरहेछ
आला रगतका टाटाहरु
पहिलो
दोस्रो
तेस्रो
क्रमश: अनगिन्ती खातहरुमा
खात थप्दै सडक उचाइ थपिरहेछ
छरपस्ट लासहरु
एक
दुई
तीन
हजारै हजारका
असरल्ल छरिएका चप्पलहरु
छरपस्ट आंशिक अंग बोकेर
बाघ स्वरमा
चिच्याउने सडक
पहाड फोर्दै
कोशी नाघ्दै
जलजला भेट्न
लम्किरहेको तातो सडक
सगरमाथा गाबेर
कर्णाली बगाउदै
रातो गोल बोकेर
ताराको लाममा
आजपनि
सडक कुदिनैरहेछ
सडक दौडिनैरहेछ
झण्डा हल्लिदैं
मुट्ठी उठिरहेको बेला
धर्ती डगमगाउदै
भेल सुसाउँदा
डुम............
डुम.......
डुम..
एक..
दुई.......
तीन.............
इतिहास बोकेर
आजपनि
सडक बँचिरहेछ ।

बोकाको भोज

Host unlimited photos at slide.com for FREE!
केदार श्रेष्ठ

यो त्यो गाउँको कथा हो जुन गाउँ पुरानै रीतिरिवाज र आर्दशबीच जेलिएको छ । त्यस गाउँको एउटा मध्यम खालको घरमा अलि बढी नै मानिसहरुको चहलपहल छ । त्यस घरका परिवारका सदस्यहरु अरु दिनमा भन्दा बढी नै चल्दाफुर्दा देखिन्छन् । उनीहरुले घरमा आएका मानिसहरुलाई सत्कार गर्न पनि भ्याएका छन् खित्का छोड्दै कुराकानी गर्न पनि भ्याएका छन् । जेहोस् आज घरका मानिसहरुको अनुहार सदाभन्दा हँसिलो भएको प्रष्ट देखिन्छ । घरको छेवैमा भएको बाख्राको टाँडबाट अघिदेखि नै एउटा बोकाले यी कि्रयाकलाप ध्यानपूर्वक हेरिरहेको थियो । उसमा यति धेरै मान्छेहरु किन जम्मा भा'को होलान् ? भन्ने कुराको खुल्दुली भइरहेको थियो । अनि त्यो बोका घोरिएर मनमनै बोल्न थाल्यो- 'पक्कै पनि आज यहाँ कुनै खुशीको भोज हुनलागेको हुनुपर्छ नत्र यति धेरै मान्छेहरु विनासित्ति के गर्न आउँथे उही भोजै भएर त होला नि ।'
त्यस घरको जेठो छोराको सन्तानप्राप्तिको खुशीयालीमा न्वारनको भोज हुन लागेको रहेछ । त्यसैले उनीहरुले आफ्ना इष्टमित्रहरुलाई निमन्त्रणा गरेका रहेछन् । भोजकै चहलपहल हो भन्ने यकिन भएपछि टाँडबाट अघिदेखि नै ध्यान दिइरहेको बोकामा एउटा गजबको इष्र्या जाग्न थाल्यो । 'आ ! कति घाँसमात्र खानु कहिलेकाहीँ यी मान्छेले खाने गरेका खाना खान पाएपनि त हुने नि । बरु तिनीहरुले छाडेको रहलपहल भए पनि मज्जै हुन्थ्यो ।'
यस्ता कुराले बोकाको मनमा बास लिएपछि पक्कै पनि रहलपहल भएपनि पाइएलाजस्तो छ भन्ने सोचेर त्यसलाई नाचूँ-नाचूँ लाग्यो उफ्रू-उफ्रू लाग्यो खुशीले के गरुँ कसो गरुँ भयो । हुन त त्यस बोकाले भोजको कुरा टाँडमा भएका अरु बाख्राहरुलाई पनि सुनाउन नखोजेको होइन तर आफ्नो भाग घट्ने पो हो कि भन्ने डरले अरुलाई अत्तोपत्तो दिएन । फेरि अरु बाख्राहरुलाई यस्ता कुरामा खासै वास्ता पनि थिएन ।
यत्तिकैमा दुईजना मानिस टाँडतिर आउँदै थिए । एउटा चाहिँले 'भरिएको डिक्ची' बोकेको थियो । यो देखेर 'पक्कै पनि मेरो लागि केही ल्याएको हुनुपर्छ । साँच्ची यिनीहरुले मलाई कति माया गर्छन् ।'भन्ने सोचेर बोकामा हर्षको सीमा रहेन । त्यसपछि एउटा मान्छेले चाहिँ टाँडबाट दाम्लो फुकाएर बोकालाई आँगनतिर लग्यो र एउटा किलामा बाँध्यो । यतिखेरसम्म बोकामा भोजको कल्पनाले छोडको थिएन । तर त्यो धैरैबेर सम्म रहन सकेन । जब आँगनको किलामा बाँधिएको त्यस बोकाको गर्धनतिर धारिलो हतियार जोडतोडले खस्न लाग्यो यसले उसको आँखामा परेको एक किसिमको चमकले पलक झट्ट बन्द हुन पुग्यो तब त्यस बोका छाँगाबाट खसेजस्तै भयो । अनि त्यसको आँखा छेवैमा भरिएको डिक्चीमा अगेनामाथि उम्लिरहेको पानीमा पर्यो । त्यतिखेर त्यो निरिह भएर आफ्नो गर्धन हतियारलाई समर्पण गर्नु सिवाय अरु केही गर्न सकेन ।
'नवयुवा' मासिक पूर्णांक १०६ मा प्रकाशित

मेरो सानो मुरलीमा

Host unlimited photos at slide.com for FREE!
मन्जुल

मेरो सानो मुरलीमा मेरो देश नअटला
तर मेरो मुरलीले भाखा राखुँ भन्छ
मेरो सानो मुटुभित्र मेरो देश नअटला
तर मेरो दश औँलीले देशै ढाकुँ भन्छ ।

सुनाखरी फुलुँ भन्छ, सुनगाभा फुलुँ भन्छ
गुराँसको जोवन मेरो, लालुपाते हासुँ भन्छ
वेणी र त्रिवेणी देशसंग मिलुँ भन्छ ।
बादलुले उडुँ भन्छ, पखेरामा गुडुँ भन्छ
आकासले अडुँ भन्दा, पर्वतले बढुँ भन्छ
डाँफे चरी माथि माथि हिमालमा चढुँ भन्छ ।

शब्दकोष

विमल निभा

हिजोआज शब्दहरुले
एउटै अर्थ दिन थालेका छन्

उदाहरणको लागि
तपाईँ संसदलाई संसद् भन्नोस्
अथवा सुपर मार्केट
आन्दोलनलाई आन्दोलन भन्नोस्
अथवा धोकामनीषीलाई मनीषि भन्नोस्
अथवा गड्यौँला
संविधानलाई संविधान भन्नोस्
अथवा चुटकिला
साहुकारलाई साहुकार भन्नोस्
अथवा रक्तजीवी
विचारलाई विचार भन्नोस्
अथवा र्वीयपात
नायकलाई नायक भन्नोस्
अथवा भारदार
न्यायलाई न्याय भन्नोस्
अथवा गाली
भद्रजनलाई भद्रजन भन्नोस्
अथवा दलाल
झण्डालाई झण्डा भन्नोस्
अथवा मखुण्डो
सिंहदरबारलाई सिंहदरबार भन्नोस्
अथवा जुवाघर
व्यवस्थालाई व्यवस्था भननोस्
अथवा जङ्गल
रक्षकलाई रक्षक भन्नोस्
अथवा अपराधी
राजनीतिलाई राजनीति भन्नोस्
अथवा ठेकेदारी
देशलाई देश भन्नोस्
अथवा वधस्थल
कुनै फरक पर्नेछैन
चलाखी, महल, सिद्धान्त
जननायक, साइकल, लामखुट्टे
बहुमत, घुस, घाँस
ढुङ्गा, कर्फ्यू, फूल
पहलमान, वंशावली, रात
बारुद, लाइसेन्स, जय नेपाल
समीकरण, गमला, गीत
मन, कमरेड, दमकल
पासपोर्ट, मानिस, हिमाल
पार्टि, श्रीपेच, खेल
दलबदल, आलोचना, पैसा
अभियान, बल, समाजवाद
अमेरिका, भकारी, अविश्वास
इतिहास, कूटनीति, दलदल आदिमा
अब कुनै भेद छैन

म निरन्तर पाना पल्टाएर हेरिरहेछु
लोकतन्त्रको शब्दकोशमा
शब्दहरुले अर्थ हराएकाछन्

गजल

धनश्याम न्यौपाने 'परिश्रमी "

फल्दैनौ भन्दैछौ जुन विरुवा फल्छ जरुर
तिम्रो विचारको पर्खाल एकदिन ढल्छ जरुर

प्रतिक्षा त गर्नै पर्छ प्राप्तीका लागि
ओथ्रा बसेको पोथीले चल्ला कोरल्छ जरुर

कैलेसम्म यस्तै मात्र रहला यो मौसम
आँधी हुरीका भरमा बतास चल्छ जरुर

उठ्नुपर्छ भोका पेटले कसेर कम्मर
झुप्राहरुको चुलामा आगो बल्छ जरुर

सन्देह पालेर मनमा सपना साकार हुँदैन
ताप चाहिन्छ फलाम पनि गल्छ जरुर

गजल

Host unlimited photos at slide.com for FREE!
बूंद राना

सोधिरहेछन, आज मेची र महाकाली
जागा बसेका छौ कि सुतेका छौ नेपाली ।

ओइलाई फूल सारा फूलबारी शोकमा छ,
दुस्मन कुनै पस्यो कि गद्दार भयो माली ।

एकचोटी फेरि टिष्टा सम्झौँ न काँगडा त्यो
काटेर ज्यान दिँदा लाग्दैन कि कहाली ।

घाउ हो सानोतिनो ठानेर छोडिदिए
क्यान्सर भैदिएमा सकिन्छ र सम्भाली ।

देख्दैछु आज सारा अनुहारभित्रको आगो
हो, रात ढल्ने छैन राँको ठूलै नबाली ।

गजल

Host unlimited photos at slide.com for FREE!
अच्यूत अधिकारी 'पलास'

मन आज कुन्नी किन रोए भन्यो
पिडा देखि देशले बह फोए भन्यो ।

युगदेखि मर्‍या'छन् गरीव मात्रै
एक पक्ष यस्ता रित धोए भन्यो ।

श्रम चोरि रजाइ गर्ने धनिका
अब मीलि सबै खुन दोए भन्यो ।

नबसौँ अब धेर अन्धो भई याँ
मिलि आउ मशाल उठाए भन्यो ।

पुरानो युगको खुनि पेट भित्रै
नव युगको छुरि धसाए भन्यो ।

(वहरे हजज अखरव अवतर मुसछस
पिङ्गल छन्द - तोटक )

"साहित्य सुस्केरा" को प्रथम शृङ्‍खला सम्पन्न

ही जेठ २९ गते बुधवार, निर्धारित "सहित्य सुस्केरा" को प्रथम शृङ्‍खला सम्पन्न भएको छ । थोरै भएपनि उत्साहजनक उपस्थितिमा अनौपचारिक रुपमा भएको उक्त शृङ्‍खलामा भर्खरै साहित्य यात्रामा पाइला चाल्दै गरेका देखी स्थापित साहित्यकारसम्मका विभिन्न विधाका १३ वटा मौलिक रचना वाचन गरिएको थियो ।
साथै दोस्रो शृङ्‍खलादेखी "सहित्य सुस्केरा" हरेक नेपाली महिनाको दोस्रो शनिबार दिनको ठीक २:०० बजे, नेपाल मानविकी क्याम्पस (आर.आर) मा हुने जानकारी गराउदै, असार १४ गते हुने "साहित्य सुस्केरा" को दोस्रो शृङ्‍खलाको निम्ती यहाँहरु सबैलाई निम्तो गर्दछौँ ।
साहित्य सुस्केरा परिवार

Tuesday, June 10, 2008

असफल

Host unlimited photos at slide.com for FREE!
केदार श्रेष्ठ
साहित्यतिर झुकाव राख्न थालेदेखी लक्ष्मीमा नयाँ जोश र जाँगरको संचार भएको थियो । उनी बरोबार साहित्यका विभिन्न विधामा कलम चलाऊने गर्थी र त्यसको प्रकाशनको प्रयासमा पनि जुट्थी । सायद उसलाई साहित्यमा सफल हुने प्रवल इच्छाले गर्दा होला, उसले साहित्यिक रचनाहरुमा आफ्नो थर लोप गराइ लक्ष्मी 'असफल' भनी लेख्न थाली । उसले विभिन्न लेखकहरु संग सम्वन्धको विस्तार गर्न थाली, सायद यो पनि 'असफल' लाई 'सफल' मा ढाल्ने राम्रो काइदा हुन सक्छ ।
यसै क्रममा संयोगवश भनौँ या कुनै कारणले उसको एकजना लेखकसँग चिनापर्ची भयो । साहित्य-आकाशमा नाम स्थापित गरिसकेका उक्त लेखकको विभिन्न पत्रपत्रीकाहरुसम्म पहुँच रहेछ । लक्ष्मीले पनि यो कुरा बुझेर मौकामा चौका हन्ने दाउले भनिहाली-"मैले पनि हालसालै एउटा कविता लेखेकी छु, सुनाउँ कि ?" लेखकज्यूको अनुमतिपश्चात उसले खुब स्फुर्त शैलीमा कविता सुनाइ । लेखकले पनि कविताको तारिफ गर्‍यो र उसको हातबाट कविताको कागज लिँदै भन्यो-"लक्ष्मी 'असफल' जी कविता राम्रो छ, म यसलाई छाप्ने प्रयत्न गरुँला ।" लक्ष्मीले खोजेकी पनि यस्तै, कुनै नाइनास्तीको कुरै भएन ।
केही हप्तापछी एउटा साहित्यिक पत्रीका उसको हातमा पर्‍यो । यस्ता पत्रीका भनेपछी 'बाँदरले केरा छोड्ला' तर उसले छोड्ने थिइन । कुनै कसर नराखी पढ्ने गर्थी । उसले क्रमश: एकपछी अर्को गर्दै त्यहाँभित्रका रचनाहरु पढ्दै गई । एउटा रचनामा गएर भने एकैछिन अडीइ र हर्षका साथ त्यो रचना चम्किला आँखा लिएर पढ्न थाली । ए ! त्यो त उसकै कविता पो रहेछ । जुन लेखकज्यूले "छाप्ने प्रयत्न गरुँला" भनी थपक्क गोजिमा राखेको थियो । तर त्यस रचनाको लेखकको नाम देखेपछी उ झसङ्ग भईन । त्यहाँ त लक्ष्मीको नाम कहिँ कतै उल्लेख थिएन । विश्वास लागेन त्यस्ता प्रतिष्ठित व्यक्तिले यस्तो घटिया काम कसरी गर्न सक्छ ? उसले फेरी आफ्नो नाम खोज्न थाली, यता हेरी, उता हेरी, तल हेरी, माथि हेरी तर अहँ कतै थिएन त्यहाँ त उही लेखकको नाम उसलाई गिज्ज्याएजस्तै गरी मुसुमुसु हाँसिरहेको थियो । 'सफल' अभिलाषा पालेर 'असफल' नाम राखेकी लक्ष्मीले आफ्नै हातले, आफ्नै कलमले आफ्नै विचारले लेखेकी त्यो आफ्नै मौलिक कवितामा आफ्नै नाम भेट्टाउन 'असफल' भाईन् ।
शव्द-संयोजन मासिकको पूर्णांक ३२ मा प्रकाशित (२०६३ पुष)

Sunday, June 8, 2008

The Life Poem

Host unlimited photos at slide.com for FREE!
Shrijana K.C.

Frustration came to attack me,
But it couldn’t even touch me,
Depression came to finish me,
But it own self loose with me,
Problems came to paralyze me,
But it vanish from my hands,
Rejection came to win me,
But I got victory over it,
Breathing devils came to kill me,
But I caught them with my thought.

I am walking, I will never stop my walk.......